निर्वाचन बहिष्कारको अभियान चलाउने पाँच जना गिरफ्तार

  ०८० वैशाख ७ गते

तनहुँमा हुने उपनिर्वाचनको बहिष्कार अभियान सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।

वैशाख ७ गते दमौलीको अनसन चोकमा उपनिर्वाचन विरोधी कोणसभा आयोजना गरेको अवस्थामा प्रहरीले उहाँहरूलाई गिरफ्तार गरेको हो ।

गिरफ्तार हुनेमा नेकपा मसालका केन्द्रीय प्रवक्ता प्युठान जिल्ला निवासी रामबहादुर बुढामगर, नेकपा मसालका गन्डकी प्रदेशका प्रवक्ता व्यास नगरपालिका– ३ का पुष्पलाल श्रेष्ठ, नेकपा मसालका तनहुँ जिल्ला प्रवक्ता व्यास नगरपालिका– १३ का धनबहादुर परियार, नेकपा मसालका तनहुँ जिल्ला सेक्रेटरी म्याग्दे गाउँपालिका– ५ का नरबहादुर थापा मगर र नेकपा मसालका समर्थक चितवन माडी घर भएका राजकुमार श्रीस मगर रहेको नेकपा क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश सचिवालय सदस्य नेत्र रानाभाटले बताउनुभयो ।

नेकपा मसाल, नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी र देशभक्त गणतान्त्रिक मञ्चले वैशाख १० गते हुने उपनिर्वाचनको बहिष्कार गरौं भन्ने नारा सहित अनसन चौतारीमा कोणसभा आयोजना गरेको थियो ।

गिरफ्तार गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।

चारओटा कम्युनिष्ट पार्टीहरूले निर्वाचन बहिष्कार अभियानलाई अझ शसक्त रूपमा लैजाने नेकपा क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश सचिवालय सदस्य रानाभाटले बताउनुभयो ।

giraftar 1


प्रकाशचन्द्र भट्टराई