निर्वाचन प्रचारप्रसारमा आज राति १२ बजेदेखि मौन अवधि

  ०८१ मङ्सिर १३ गते

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगले ध्यानाकर्षण गराएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भयो ।

मङ्सिर १३ गते बसेको आयोगको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरुलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शङ्कास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरुका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिएको उल्लेख छ ।

कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार नगर्ने नगराउने, निर्वाचन प्रचारप्रसार लगायत कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदी नगर्ने नगराउने, कुनै गतिविधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने/नगराउने सूचनामा उल्लेख छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई सो कार्य नगर्न र नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ।

'उपनिर्वाचन हुने स्थानीय तहमा अनिधिकृत एवम् शङ्कास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा, कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालयमार्फत् निर्देशन दिइएको छ।'-विज्ञप्तिमा उल्लेख छ ।


पार्बती साउद