निर्वाचन पूर्वको तयारी सन्तोषजनकः इन्सेक

  ०७९ मङ्सिर ३ गते

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षण गरिरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले लुम्बिनी प्रदेशमा निर्वाचनको तयारी सन्तोषजनक रहेको जनाएको छ ।

इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी, केन्द्रीय कार्यालयका कृष्ण गौतम र लुम्बिनी प्रदेश संयोजक भोला महतसहितको निर्वाचन पूर्वको पर्यवेक्षण टोलीले लुम्बिनी प्रदेशमा निर्वाचन हुनु पूर्वको तयारी सन्तोषजनक पाइएको जनाएको हो ।

सदस्य बुढाथोकीले मङ्सिर २ गते घोराहीमा नागरिक समाज, पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशका विभिन्न जिल्लामा गरिएको पूर्व तयारीको अवस्था सार्बजनिक गर्नु भएको हो ।

निर्वाचनको प्रचार, मतदान केन्द्रको तयारी, कर्मचारी परिचालन, मतपेटिका र मतदाताको सुरक्षालगायतका विषयमा निर्वाचन आयोगले गरेको तयारी सन्तोषजनक रहेको बताउँदै केही नीतिगत समस्या भने देखिएको जनाएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रोल्पाकै होलेरी हुँदै दाङ आइपुगेको पर्यवेक्षण टोलीले मतदाता शिक्षा प्रभावकारी नभएको जनाएको छ ।

मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने आयोगको निर्णयले धेरैजसो स्थानीय तहले मतदाता शिक्षालाई बोझकोरुपमा लिएको, सबै स्थानमा मतदाता शिक्षा नपुगेको, नमूना मतदान कार्यक्रम पनि प्रहरी, प्रशासन, जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलहरूको सहभागितामा गरिएको इन्सेक कार्य समिति सदस्य बुढाथोकीले बताउनु भयो ।

“मतदाता शिक्षा दिनुपर्ने ग्रामिण क्षेत्रका सर्वसाधारणलाई हो तर नमूना मतदान शहर बजार केन्द्रीत, गाउँमा पुगेपनि जाने बुझैकै शिक्षक, कर्मचारी, दलका नेता, पत्रकारबिच गराइएको पाइयो । यो नीतिगतरुपमै कमजोरी भयो ।,” बुढाथोकीले भन्नु भयो ।

बुढाथोकीका अनुसार आचार संहिता पालनामा पनि केही सुधार आएको, व्यानर, तामझाम, भित्ते लेखन जस्ता गतिविधि नगरेको,  धेरै सुधार भएको छ ।

कतिपय ठाउँमा मौखिक उजुरी आएको पनि पाइयो तर लिखित उजुरी गरेको नपाइएको, हालसम्मको अवस्था सामान्य रहे पनि विप्लव नेतृत्वको नेकपालगायतको बहिष्कार कार्यक्रमले जनतामा भय सिर्जना गरेको छ ।  निर्वाचनप्रति जनताको उत्साह भने विगतमा भन्दा कम देखिएको बुढाथोकीले बताउनु भयो ।

अनुगमन टोलीका सदस्य तथा लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचन आयोगको स्रोत परिचालनमा समस्या देखिएको र त्यसले जनशक्ति तथा अत्यावस्यकीय बस्तुको व्यवस्थापनमा समस्या देखिएको बताउनु भयो ।

यसैगरी, टोलीका सदस्य कृष्ण गौतमले निर्वाचन आयोगको लापरवाहीले निर्वाचनमा खटिएका कतिपय कर्मचारी नै समानुपातिक मतदानबाट वञ्चित हुनु परेको बताउनु भयो । पर्यवेक्षण टोलीले निर्वाचनप्रतिको नागरिकको घट्दो उत्साहले मत खस्ने दर घट्ने जोखिम रहेको पनि उहाँले औल्याउनु भयो ।


जयनारायण पुन