निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू

स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा जेठ ३० गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् ।

नागरिक समाजका विभिन्न सरोकार समूहका अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा निर्वाचनको अपरिहार्यता र मानव अधिकारको विषयमा सहभागिहरूले आ-आफनो विचार ब्यक्त गरेका थिए ।

उनीहरूले मानव अधिकारको प्रत्याभूतिका लागि स्थानीय सरकारको आवश्यकता रहेको चर्चा गर्दै स्थानीय सरकार निर्माणका लागि चुनाव निर्विकल्प भएको बताएका छन् । आफ्नो ठाउँमा विकास निर्माणका कामको अगुवाइ गर्न स्थानीय तहमा जनप्रतिनिधिको आवश्यकता रहेको चर्चा गर्दै उनीहरूले आन्दोलनको नाममा चुनावलाई रोक्ने काम नगर्न र निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले आवधिक रूपमा आफ्ना प्रतिनिधि छान्न पाउनु नागरिकको मौलिक अधिकार भएको बताए । उनले निर्वाचन जनताको अभिमत व्यक्त हुने माध्यम भएकोले चुनावमा बारबन्देज लगाउन नहुने बताए ।

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचनको अस्तित्व रहने गरी निर्वाचन हुनु पर्नेमा जोड दिए । उनले निर्वाचन रोक्दै जाने हो भने प्रतिगमनको खतरा बढदै जाने बताउँदै लोकतान्त्रिक पद्धतिप्रतिको आस्थालाई मर्न दिन नहुने बताए ।

नेपाल मानव अधिकार सङ्गठन पर्साका अध्यक्ष डा. हरेरराम ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजरा, सङ्घीय समाजवादी फोरम पर्साका प्रवक्ता रामनरेश यादव, नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तवरेज अहमद, डा.सुष्मा तिवारी, निर्मला देवकोटा, जिल्ला मताधिकार मञ्च पर्साका सचिव निला राम, स्वच्न निर्वाचनका लागि नागरिक अभियान पर्सा एवम् निर्वाचन पर्यवेक्षण समिति पर्साका अध्यक्ष तथा अधिवक्ता कमल मोहन पोख्रेल, नेपाल बार एशोसिएशन पर्साका उपाध्यक्ष धिरज शर्मा लगायतले आफना विचार अभिब्यक्त गरेका थिए ।


के.सी.लामिछाने