निर्वाचन चिन्ह अङ्कित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अङ्कित टोपी, स्टीकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता साङ्केतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको राससले जनाएको छ ।

मङ्सिर १० र २१ हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिन्ह अङ्कित त्यस्ता सामग्रीको उत्पादन, विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई आयोगले आज पत्र पठाई राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, विक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिएको उनले बताए ।

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री व्यापक रूपमा उत्पादन तथा वितरण गर्न लागेको सूचना पाएपछि आयोगले यस्तो निर्णय लिएको हो । आयोगले पठाएको पत्रमा भनिएको छ-“निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गरिने छ ।”

यसअघिको निर्वाचनमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधी कारबाही गरेको थियो । निर्वाचनको अनुगमन गर्ने क्रममा आयोगबाट खटिएको टोलीले दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नअङ्कित टी शर्ट, टोपी, गम्छा र झोला बरामद गरी नष्ट गर्नाका साथै सम्बन्धित पक्षलाई कारबाही गरेको थियो ।

 


अनलाइन डेस्क