निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दी गर्न पुगेका राजापाका कार्यकर्ता गिरफ्तार
संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जेठ १६ गते धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी गरेको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयमा ताला लगाउन खोज्दा धनुषा र रौतहटमा प्रहरीले हस्तक्षेप गर्दै राजपाका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार निर्वाचन कार्यालय धनुषा घेराउ गर्न गएका राजापाका जिल्ला संयोजक परमेश्वर साहसहित ५२ जनालाई प्रहरीले जेठ १६ गते गिरफ्तार गरेको छ । निर्वाचन कार्यालय घेराउ गर्न पुगेका राजापाका नेता तथा कार्यकर्ताहरूले कार्यालयमा ताला लगाउन खोज्दा राजापाका जिल्ला संयोजक साहसहित सञ्जय सिंह, विरेन्द्र यादव, देवकृष्ण मण्डल, सतिश लाल, सरिता शर्मा, विभा ठाकुरलगायतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी लालमणी आचार्यले बताए । गिरफ्तार गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी केही समयपछि रिहा गरिने एसपी आचार्यले जानकारी दिए ।
निर्वाचन कार्यालय घेराउ गर्न गएको बेला प्रहरीले बल प्रयोग गरी लाठी चार्ज गरेको राजापाका संयोजक परमेश्वर साहले बताए । गिरफ्तार गर्ने क्रममा राजापा नेतृ सरिताकुमारी शर्माको टाउकोमा चोट लागेको र अन्य पाँच जना कार्यकर्तालाई सामान्य चोटपटक लागेको पनि साहले जानकारी दिए ।
महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन कार्यालय महोत्तरी र निर्वाचन अधिकृतको कार्यालयहरूमा जेठ १६ गते घेराउ गर्दै तालाबन्दी गरेको छ ।
राजपाका जिल्लास्तरीय नेता कार्यकर्ताहरूले जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुल ढोकामा तालाबन्दी गर्दै धर्ना दिएका थिए ।
जनसङ्ख्याको आधारमा स्थानीय तह बढाउनु पर्ने, सिमाङ्कनलगायतको टुङ्गो लगाउनु पर्ने एवम् संविधान संशोधन गर्नु पर्ने भन्दै स्थानीय तहको निर्वाचनलाई बिथोल्न महोत्तरीको १५ वटा निर्वाचन अधिकृतको कार्यालयहरूमा तालाबन्दी गरेको राजपा नेपालका प्रवक्ता कृष्णा सिंहलेले जानकारी दिए ।
यद्यपी सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । राजपाका कार्यकर्ताहरूले जेठ १५ गते राति मनरा गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयको बोर्ड झिकेर जलाएका छन् ।
पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरूले वीरगञ्जको राधेमाई टोलमा रहेको जिल्ला निर्वाचन कार्यालयमा जेठ १६ गते बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म दुई घण्टा घेराउ गरेका छन् ।
उनीहरूले निर्वाचन कार्यालय घेराउ गर्ने क्रममा सरकार र ठूला तीन दलका विरूद्ध नाराबाजी गरेका थिए ।
राजपाका नेता कार्यकर्ताले निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रराज जोशीले जानकारी दिए ।
रौतहट जिल्ला प्रतिनिधि विपिन गौतमका अनुसार राजपाका कार्यकर्ताहरूले जिल्ला सदरमुकाम गौरमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न जाने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
प्रहरीले राजपका अजय गुप्ता, अनिल सिंह, बाबुलाल साह, शेख जमसेढ, अरूण सिंह, धर्मेन्द्र पटेल, गिता कुसुवा लगायतलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार कलैया लगायत सिम्रौनगढ, बरियारपु, पतरौता लगायतका स्थानमा रहेको निर्वाचन कार्यालयहरूमा राजपाका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।
निर्वाचन कार्यालयहरूमा तालाबन्दी गर्दै धर्ना दिएको राजपका स्थानीय नेता श्याम गुप्ताले बताएका छन् । राजपा कार्यकर्ताहरूले गरेको तालाबन्दी प्रशासनले खुलाएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्स्पेक्टर सर्वबहादुर सिंहले बताए ।
सर्लाही जिल्ला प्रतिनिधि सन्तोष कुमार सिंहका अनुसार जिल्ला निर्वाचन कार्यालय सर्लाही र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा राजपाका कार्यकर्ताहरूले आज घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।
मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार राष्ट्रिय जनता पार्टी मोरङका कार्यकर्ताहरूले पार्टीले उठाएको माग पुरा गराउन दबाव स्वरुप जेठ १६ गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा एक घण्टा धर्ना दिएका छन् । आन्दोलनको घोषित पछिल्लो कार्यक्रम अनुसार राजपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय निर्वाचन कार्यालय अगाडि बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिँदै घेराउ गरेका हुन् ।
संविधान संशोधन र सिमाङ्कनका विषयमा आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र ठूला तीन दल उदासिन रहेकाले घोषित आन्दोलनको तालिका अनुसार प्रदर्शन गरिएको राजपा मोरङका संयोजक मोहम्मद कादिरले बताए । सोही क्रममा उनीहरूले कार्यालयको मूलद्वारमा तालाबन्दी गरेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…