निर्वाचन आयोगद्वारा हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण माग

  ०७९ असोज ३१ गते

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई असोज ३० गते एक विज्ञप्ति प्रकाशन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

आयोगले स्पष्टीकरण सोधेकाहरूमा पहिलो हुने निर्वाचन तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (१) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (२)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहेका छन् ।

आयोगले उम्मेदवारहरूलाई सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ “आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान रहेको भनि प्रचार प्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई लौरा निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको भनी प्रचार प्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यस पूर्व आयोगबाट पत्राचार समेत भइसकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु एक लाख रुपैयासम्म जरिबाना किन गर्नु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्नुहोला ।”

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ ।


विमल पौडेल