निर्वाचन आयोगद्वारा पाँच पत्रकार सङ्गठनका अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

  ०७९ वैशाख २५ गते

निर्वाचन आयोगले सत्तारुढ गठबन्धनलाई मतदान गर्न वक्तव्य जारी गर्ने पाँच दलिय गठबन्धन आबद्ध पत्रकार सङ्गठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ ।

सत्ता गठबन्धन दल निकट पाँच ओटा पत्रकार सङ्गठनले वैशाख २४ गते गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अपिल जारी गरेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा वैशाख २५ गते जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम मार्फत सत्ता गठबन्धन दल निकट नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार सङ्घका अध्यक्षहरुद्वारा हस्ताक्षर गरी सार्वजनिक गरेको “स्थानीय तह निर्वाचन , २०७९, का सन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल” विषयको विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको भनिएको छ ।

आयोगद्वारा जारी स्पष्टिकरण पत्रमा भनिएको छ ‘स्वतन्त्र पत्रकारको प्रेस सङ्गठनका अध्यक्ष/सचिवले कुनै अमुक राजनीतिक दलको÷दलहरूको पक्ष/विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ/मिल्दैन ? यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरूको पेशागत सङ्गठनको तर्फबाट हस्ताक्षरकर्ताहरूले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदाताहरूलाई कुनै अमुक गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घ/सङ्गठनको पेशागत मर्यादाभित्र पर्चा पर्दैन ? पत्रकारको पेशागत सङ्गठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ/ हुँदैन ? पत्रकारिताको क्षेत्र (Space) र राजनीतिक क्षेत्र (Space) भिन्न हो/होईन ? कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत सङ्घ/सङ्गठनमा आबद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तब्य जारी गर्दा आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ/मिल्दैन ?” यो पत्र प्राप्त भएको चौबीस घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ सहितको स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ , सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा आबद्ध कर्मचारी र पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने व्यवस्था छ ।

त्यसैगरी निर्वाचन आचारसंहिताको दफा २२ को खण्ड (घ ) मा सञ्चार प्रतिष्ठान, सो मा सम्वद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रशारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।


विमल पौडेल