निर्वाचन आयोगद्वारा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र कांग्रेस नेतृलाई २४ घण्टे स्पष्टीकरण

  ०७९ वैशाख २८ गते

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार चितवनको भरतपुरमा ०७९ वैशाख २३ गते आयोजित आमसभामा आफ्नो मन्तब्यका क्रममा ’“यदि यस भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानेछ” भनी आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको हुँदा उक्त कार्य निष्पक्ष निर्वाचन प्रणालीको विपरीत भएको हुँदा यहाँलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३५ र दफा ३६ बमोजिम हदैसम्म कारबाही गरिपाउँ भनि नेपाली काङ्ग्रेस बिपीबाट आयोगमा निवेदन प्राप्त भएको उल्लेख छ ।

आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहीत मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ?’

आयोगले दाहाललाई ‘कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ?’ को स्पष्ट जवाफ पत्र प्राप्त भएको २४ घण्टाभित्र पेश गर्न निर्देशन दिएको छ  ।

त्यस्तै आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रयी सदस्य आरजु राणा देउवालाई पनि स्पष्टिकरण सोधेको छ ।

कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा देउवाले मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रूपमा वैदेशिक रोजकारमा पठाउने भनी प्रलोभन देखिएको भन्दै वैशाख २७ गते नेपाली कांग्रेस (बीपी) ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएको थियो ।

देउवालाई सोधिएको स्पष्टिकरणमा भनिएको छ, ‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ, छैन ? तपाईँले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रूपमा मतदान गर्न पाउने हकलाई सङ्कुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ ।

Prachanda Spastikaran patra Arju Rana Deuba spastikaran patra


विमल पौडेल