निर्वाचन आयोगद्वारा उपप्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

भदौ २४ गते निर्वाचन आयोगमा बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदार, राज्यमन्त्री अमर सिंह पुनसँग आचारसंहिता उल्लङ्घन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न निर्णय गरेको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारको पार्टीका नेता एवम् कार्यकर्ताहरूले बीरगञ्ज महानगरपालिकामा २०-२५ वटा गाडीहरू र १ सय ओटाभन्दा बढी मोटरसाइकलसमेतको ‍र्‍याली/जुलुस निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगमा सूचना आएपछि आयोगले स्पष्टीकरण सोधेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

'बीरगञ्ज महानगरपालिकाको निर्वाचनको क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री

विजयकुमार गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ को दफा ४ (क) विपरीत गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकाली नेपाल सरकारका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारबाही गर्न नपर्ने हो -' भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न र उल्लिखित निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत बीरगञ्ज महानगरपालिकाका लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी जलस्रोत राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा काङ्ग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सूचना आयोगमा आएको भन्दै सोही सूचनाका आधारमा आयोगले पुनसँग पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

'निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेवापत जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने' आयोगको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उनीहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।


सुभाष साह