निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलको विद्यालयमा सभा

  ०७९ कात्तिक २९ गते

निर्वाचन आचारसंहिता विपरित सत्तागठबन्धन दलले डोल्पाका विद्यालयमा चुनावी सभा गरेको पाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी (एस) ले विद्यालयहरूमा चुनावी सभा गरेका हुन ।

सत्तागठबन्धन दलका उम्मेदवारको पक्षमा मत माग्न विभिन्न गाउँमा जाने क्रममा त्रिपुरासुन्दरी नपा–१० दापुस्थित कान्जिरोवा आधारभूत विद्यालय, ठूलीभेरी नपा–५ माझफालस्थित विद्यामन्दिर माध्यमिक विद्यालय र मुड्केचुला गाउँपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय नर्कुमा निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको विभिन्न समयमा चुनावी सभा गरिएको हो ।

सत्तागठबन्धन दलकोतर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका नेकपा (एस) का धनबहादुर बुढा, कर्णाली प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) तर्फका उम्म्मेदवार नेकपा माओवादीका वीरबहादुर शाही, निर्वाचन क्षेत्र प्रदेश सभा (क) नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्रबहादुर शाहीले विद्यालयमा चुनावी सभा गर्नु भएको हो ।
विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा नेकपा समाजवादी (एस) का स्थानीय नेता कर्ण बुढाले ठूलो नभई स्वागतको रुपमा गाउँमा आउनु भएका नेतालाई सम्मान गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो गाउँघरमा धेरै मानिसको एकै ठाउँमा जमघट हुने स्थान नहुने भएकाले अहिले मात्र नभएर विगतदेखि नै विद्यालयमा कार्यक्रम गर्ने गरिएको छ । सामाजिक संजालमा विद्यालयमा चुनावी सभा गरेको फोटो पोष्ट भइरहँदा भने सम्बन्धित निकाय बेखवर बनेको सर्वसाधारणको भनाई छ ।

Photodolpa20221115 (1) Photodolpa20221115 (2)


विष्णु प्रसाद देवकोटा