निर्वाचन आचारसंहिता विपरित निर्वाचित जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा

स्थानीय तहमा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको छ ।

इन्सेकका प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताका कार्यान्वयन तथा परिपालनाको अवस्थाको अनुगमनका क्रममा निर्वाचित जनप्रतिनिधिहरु चुनवा प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको हो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको भएपनि जिल्लास्थित स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको आमसभा तथा निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको पाइएको छ ।

photo20221110darchula1

९ ओटा स्थानीय तह रहेको यस जिल्लाका सबै जनप्रतिनिधि चुनावी प्रचारमा खटिएका इन्सेकका पर्यवेक्षकहरुले जानकारी गराउनु भएको छ ।

नौगाडमा पर्यवेक्षण गर्दै आउनुभएका चन्द्रसिह धामीका अनुसार नेपाली काग्रेसबाट नौगाड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित जगतसिह ठगुन्ना आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मतमाग्दै हिड्नु भएको छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे अपिहिमाल गाउँपालिकाका सबै वडाहरुमा पुगेर गठबन्धनको पक्षमा मत मागिरहनु भएको पाइएको छ ।

शैल्यशिखर नगरपालिका प्रमुख विजयसिह धामी एमालेका पक्षमा मत माग्दै नगरभरी प्रचारप्रसारमा संलग्न हुनु भएको छ । इन्सेक पर्यवेक्षक जिज्ञासु खत्रीका अनुसार सबै जनप्रतिनिधि अहिले जिल्लाभरी प्रचारप्रसारमा सक्रिय रहनु भएको छ ।

photo20221110darchula (2)

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी गठबन्धनको पक्षमा खुलेरै भाषण गर्दै भोट माग्दै हिडिरहनु भएको स्थानीय ललित खत्रीले बताउनु भयो ।

जिल्लाका नौ ओटै स्थानीय तहका जनप्रतिनिधिहरु चुनावी गतिविधिमा संलग्न हुनु भएको फोटोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको पाइएको छ ।

उम्मेदवार र जनप्रतिनिधिहरूले आचार संहिता विपरित कार्य गरेको सम्बन्धमा आचारसंहिता अनुगमन गर्दै आउनुभएका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जगन्नाथ भट्टले पहिलो चरणमा सबैलाई आचारसंहिता उल्लङ्घन नगर्न सम्झाइएको बताउनु हुन्छ । हामीले सुरुमा सचेत गराउने हो, उहाँले भन्नु भयो, सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई हामीले प्रचारप्रसारमा नलाग्न सचेत गराएका छौँ उहाँले भन्नु भयो ।

निर्वाचन आचारसंहिता विपरित निर्वाचन गतिविधिमा संलग्न स्थानीय तहका जनप्रतिनिधिहरु विरुद्ध लिखित तथा मौखिक उजुरी भने कहि कोहीबाट नआएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनु भयो ।

photo20221110darchula (3)


नरेन्द्रसिंह कार्की