निर्वाचन आचारसंहिता पाल्ना गर्ने राजनीतिक दलद्वारा आयोग समक्ष प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने उद्धेश्यले विभिन्न राजनीतिक दलका प्रमुख एवम् पदाधिकारीहरूसँग छलफल गरेपछि दलहद्वारा प्रतिबद्धता व्यक्त गरेका छन् ।

असोज २७ गते आयोगको कार्यालय आयोजित छलफलमा प्रमुख राजनीतिक दलका साथै साना दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'निर्वाचन लोकतन्त्रको आधारशीला भएको र स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्र लोकतन्त्रको सुदृढीकरण गरी सुशासनमा टेवा पुर्‍याउँछ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै ०७४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन हामी कटिबद्ध छौँ ।'-राजनीतिक दलले जनाएको प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

साथै निर्वाचन आचारसंहिता सदैव मन, वचन र कर्मले पालना गर्ने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिबद्धता व्यक्त गर्नेमा नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसैबिच निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज २७ गते आयोगमा बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि उम्मेदवारले २५ लाख रुपियाँ र प्रदेश सभाका लागि १५ लाख रुपियाँ खर्च गर्न पाउने निर्णय भएको बताए ।

यसैगरी समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्या अनुसार प्रति उम्मेदवार २ लाख रुपियाँसम्म खर्च गर्न सक्नेछ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्या अनुसार प्रति उम्मेदवार १ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।


सुभाष साह