निर्वाचन आचारसंहिता उल्लङ्घन

तेह्रथुमका दुई नगरपालिका र चार गाउँ पालिकाका मुख्य बजारहरूमा केही दिनयता राजनीतिक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको पाइएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । राजनीतिक दलले सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, बसन्तपुर र छथर सुक्रबारेको मुख्य सार्वजनिक स्थान, बिजुलीको पोल, सरकारी कार्यालयको परिसर वरपरसमेत आचारसंहिता उल्लङ्घन हुनेगरी पार्टीको झन्डा र ब्यानर राखेको पाइएको हो ।

निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिन्ह भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेको छ । तर, अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिन्ह भएको टिसर्ट, टोपी र छातासमेत वितरण गर्दै हिँडेका छन् । 'मजदुरदेखि ठेकेदार र चिया पसलेदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन लाउने गरेको छन् ।'-जिरीखिम्तीका व्यवसायी श्रीकार्कीले बताए ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका प्रमुख निर्वाचन अधिकृत निर्मलकुमार राईले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताए । सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइसकिएको उनले बताए ।

भगिश्वर लिम्बु


तेह्रथुम । ०७४ जेठ ३० गते