निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित निगरानी समूहको जेठ २९ गते घोराहीमा बसेको बैठकले असार १४ गते गर्न लागिएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा दलहरूबिीचमै साङ्घातिक आक्रमण, तोडफोड, धम्कीजस्ता गतिविधि भइरहेकाले निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको हो ।

निगरानी समूहले घोराही उमनपा-५ र राप्ती गाउँपालिकाका अध्यक्षका उम्मेदवार तथा नयाँशक्ति पार्टीका नेताहरूमाथि चुनावी कार्यक्रमकै सन्दर्भमा कुटपिटलगायतका गतिविधि गरेको पाइएकाले यस्ता घटना नदोहोर्‍याउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको हो । यस्ता गतिविधिले मतदाताले ढुक्कसँग मत हाल्ने वातावरण नहुने भन्दै शान्तिपूण, भयरहित निर्वाचनकालागि गम्भीर हुन सबै दलहरूलाई आग्रह गरेको निगरानी समूहका अध्यक्ष केशवकुमार शर्माले बताए ।

यसैगरी जेठ ३० गते आह्वान गरिएको राप्ती बन्दको कार्यक्रम फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीलाई निगरानी समूहले आग्रह गरेको छ । छलफलका माध्यमबाट समस्याको समाधान गर्न सकिने भन्दै बन्दले नागरिकको दैनिक जीवनमा पार्ने असरलाई मध्यननजर गर्दै बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको हो ।


जे.एन.सागर