निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको अपिल

  ०७३ फागुन १७ गते

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा बालिग नागरिकलाई अपिल गरेका छन् ।

देशबासीका नाममा फागुन १७ गते सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते तय गरिएको निर्वाचनमा उत्साहका साथ सहभागी हुन सबै राजनीतिक दल र बालिग नागरिकलाई अपिल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले सरकार २० वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गराउन कटिबद्ध रहेको भन्दै त्यसलाई सफल पार्न सबैले सहयोग गनुपर्ने बताएका छन् । उनले निर्वाचन हुन नसके प्राप्त भएका उललब्धिसमेत गुम्न सक्ने खतरा रहेको र निर्वाचन राजनीतिक दलको मात्र परीक्षा नभइ सिङ्गो राष्ट्रको परीक्षा भएको उल्लेख गर्दै निर्वाचन सफल पार्न अन्तर्राष्ट्रिय क्षेत्रको सकारात्मक भूमिकासमेत आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले निर्वाचन हुन नदिएर सङ्घीयतासमेत उल्टाउने खेल भइरहेको आरोप लगाउँदै निर्वाचनमा भाग लिएर सङ्घीयता कार्यान्वयनका लागि पहलकदमी लिन मधेसी मोर्चालाई आह्वान गरे । उनले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै हरेक मतको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले घोषित निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको भन्दै  जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउनका लागिसमेत सरकारले गृहकार्य गरिरहेको बताए ।

यस्तै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेपनि संवैधानिक बाध्यताको कारण चुनावको मिति घोषणा गरेको भन्दै प्रधानमन्त्री दाहालले असन्तुष्ट मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।


विवेक ढुङ्गाना