निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालाहरू प्रतिबद्ध

  ०७४ वैशाख २९ गते

स्थानीय तह निर्वाचनमा दार्चुलामा बालबालिकाको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाको अध्यक्षतामा वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा बालबालिकाको प्रयोग र बाल अधिकारको हनन् हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाया पौडेलले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल एवम् सम्बद्ध सबै सरोकारवालालाई आग्रह गरेकी थिइन् ।

निर्वाचनको क्रममा बाल अधिकार उल्लङ्घन हुने, बालबालिकालाई झण्डा बोकाउने जस्ता गतिविधि हुने गरेको भन्दै यसतर्फध्यान दिन उनले आग्रह गरेकी हुन् ।

जिल्लास्थित राजनीतिक दलका नेताहरूले निर्वाचनको र्‍याली, प्रचारप्रसार, जुलुस तथा अन्य कार्यक्रममा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक दलका नेताहरूले अहिले पनि बालबालिकाको प्रयोग नभएको भन्दै आगामी दिनमासमेत बाल अधिकार सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला, नेपाली काङ्ग्रेसका सभापति ललितसिंह बोहरा, नेकपा एमालेका कार्यालय सचिव नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानबहादुर धामी, राप्रपाका जिल्ला कमिटी सचिव इन्द्रा बोहरा, नेकपा संयुक्तका जिल्ला अध्यक्ष रामसिंह महर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मनबीर दमाइ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, पत्रकार एवम् मानव अधिकारकर्मीहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।


नरेन्द्रसिह कार्की