निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

कास्कीमा क्रियाशील राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Photo20170420Kaski

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय र कास्कीमा सक्रिय मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले वैशाख ७ गते कास्कीका विभिन्न राजनीतिक दलका नेतृत्व तहलाई भेटी निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका थिए ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आगामी स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने आफ्नो पार्टीको धारणा रहेको बताउँदै बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न आग्रह गरिएको प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

Photo20170420Kaski1

प्रतिबद्धतापत्रमा नेपाल सरकारले बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरिसकेकोले राजनीतिक दल सो प्रति प्रतिबद्ध रहनुपर्ने, साथै बालबालिका तथा विद्यालयहरू शान्तिक्षेत्र घोषणा गरी विद्यालय शान्तिक्षेत्र र कार्यन्वयन निर्देशिका-२०६८ कार्यान्वयनमा ल्याइएकाले सोको समेत सम्मान गर्नुपर्ने कार्यक्रममा बताइएको थियो ।

त्यसैगरी बालबालिकालाई आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग नगर्ने उल्लेख गरिएको छ ।

सि.डब्लु.एस.एन, इन्सेक क्षेत्रीय कार्यलय पोखरा, राइट फर चिल्ड्रेन, गैरसरकारी संस्था महासङ्घ, को-क्याप, मानव अधिकार निगरानी समूहलगायत मानव अधिकार सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरूले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलाई भेटी निर्वाचनमा बालबालिका प्रयोग नगर्न आग्रह गरेका थिए ।


संगीता भाट