निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलका नेताहरूको प्रतिबद्धता

स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने बारेमा तनहुँमा रहेका विभिन्न राजनितिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति तनहुँको आयोजनामा वैशाख ७ गते दमौलीमा निर्वाचनमा बालबालिकाको प्रयोग निषेध विषयक प्रतिबद्धता कार्यक्रममा तनहुँका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा नगराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी विभिन्न दलका नेताहरूले राजनीतिक दलद्वारा आयोजना गरिने जुलुस, र्‍याली, आमसभा, बैठक, भेला तथा निर्वाचनको प्रचार-प्रसारसम्बन्धी कुनै पनि कार्यमा बालबालिकाको प्रयोग नगर्ने तथा नगराउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी दलहरूले निर्वाचनको कारणले विद्यालय बन्द नगर्ने तथा नगराउने, विद्यालयको हाता भित्र आमसभा, माइकिङ, पोष्टर तथा पम्प्लेट नटाँस्ने, निर्वाचन पछिको विजय र्‍याली तथा जुलुसमा बालबालिकाको प्रयोग नगर्ने र विद्यालय शान्ति क्षेत्र अभियान लगायत बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा राष्ट्रिय कानुन एवम् निर्वाचन आचार संहिताको पुर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाल अधिकारसम्बन्धी महासन्धि (सिआरसी) १९८९, नेपालको संविधान तथा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन निर्देशिका - २०६८ को पुर्ण सम्मान गर्दै स्थानीय तहको निर्वाचनमा बालबालिकालाई निर्वाचन सम्बन्धि कुनै पनि अभियानमा संलग्न नगराउने राजनितिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, एकीकृत नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य रामहरी बजगार्इं, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष भुवनसिंह थापा, लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष दिपक भट्टराई, सङ्घीय समाजवादी फोरमका गणेश खाती, विवेकशिल नेपाली पार्टीका जिल्ला अध्यक्ष सागर घिमिरेलगायतले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा नगराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले निर्वाचनमा बालबालिकाको प्रयोग कानुन विपरित भएको हुँदा त्यसको सबैले पालना गर्नु पर्ने बताए ।


प्रकाशचन्द्र भट्टराई