निर्वाचनमा प्रयोग गरिएको गाडीमा विष्फोट हुँदा ५ घाइते

सुनवल नपा-३ सोमनाथ खोला पुलमा नेकपा माओवादी केन्द्रले प्रयोग गरेको लु.१ ख ६७७३ नम्बरको बसमा बम विस्फोट हुँदा ‍र्‍यालीमा बसमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूमा सुनवल नपा-१२ का ४४ वर्षीया मिना चौधरी, सोही ठाउँका ४१ वर्षीया बेलाकुमारी कठरिया, १४ वर्षीय श्रीकान्त केवट, ४५ वर्षीया फुलकुमारी चौधरी र ४२ वर्षीय लेखनाथ सुवेदी रहेका छन् ।

घाइतेहरूको उपचार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेमध्ये बेला कुमारी कठरिया र लेखनाथ सुवेदीको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत आनन्द भुसालले बताएका छन् ।

बर्दघाट नपा-७ घर भई सोही नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार विश्वप्रेम पाठकको घरको छेउमा बेवारिसे अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

राति ११ बजेतिर फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय बनाएको र सो घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

बर्दघाट नपा-४ बर्दघाट घर भई सोही नगरका लागि माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार रुद्रप्रकाश उपाध्यायको घरको कम्पाउण्डभित्र असार ११ गते दिउँसो फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

सो घटनामा कसैले पनि जिम्मा नलिएतापनि नेपाल कम्युनिष्ट पार्टीले गराएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

प्रतापपुर गाउँपालिका-६ कठहवा भन्ने स्थानमा नेपाली काङ्ग्रेसको घरदैलो कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चाले अवरोध गर्दा प्रचारप्रसार प्रभावित भएको पीडित पक्षले जनाएको छ ।

नेपाली काङ्ग्रेसका सभापति विष्णु लामिछानेका अनुसार क्षेत्र नं. ६ का सांसद देवकरण जैसवालसहितको टोलीले घरदैलो गरिरहेको अवस्थामा अवरोध गरेपछि सो स्थानमा प्रचारप्रसार नगरी फिर्ता हुनुपरेको हो । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा समेत राजपाका कार्यकर्ताले अवरोध गरको पीडित पक्षले आरोप लगाएको छ ।


नारायण पराजुली