निर्वाचनमा खटिएका कर्मचारी र म्यादी प्रहरी उपल्लो डोल्पामा अलपत्र

  ०७९ मङ्सिर ८ गते

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उपल्लो डोल्पाका तीन गाउँपालिकामा खटिएका कर्मचारी र म्यादी प्रहरी अलपत्र परेका छन ।

निर्वाचन सम्पन्न भएर मतदान अधिकृत र मतपेटिका नेपाली सेनाको हेलिकप्टरले मङ्सिर ७ गते सदरमुकाम दुनै ल्याएपनि कर्मचारी र म्यादी प्रहरी नल्याउदा भने उपल्लो डोल्पामा कर्मचारी र म्यादी प्रहरी अलपत्र परेका हुन ।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतपेटिका, कर्मचारी, म्यादी प्रहरी मतदान स्थलमा लैजाने र मतदान सम्पन्नपछि सदरमुकाम दुनै ल्याउने व्यवस्था गर्ने जिल्ला निर्वाचन सुरक्षा समितिको भएपनि मुख्य निर्वाचन अधिकृतको पनि उत्तिकै जिम्मेवारी भएकाले अलपत्र कर्मचारी ल्याउन पहल भइरहेको बताउनु भयो ।

उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ डोल्पोबुद्ध र सालदाङ्ग गाउँपालिकामा खटिएका कर्मचारी म्यादी प्रहरी कोही रुघाखोकी ज्वरो र उच्च लेक लागेर विरामी भएको खवर आइरहँदा समेत समयमा हेलिकोप्टरको व्यवस्थापन गर्न नसकेर ओसार्न नपाउदा आफु अत्यन्तै भावुक बनेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनु भयो ।

मतदान सम्पन्न भएको चार दिन वितिसकेर मतपेटिका र मतदान अधिकृत सदरमुकाम पुगिसक्दा समेत कर्मचारी र म्यादी प्रहरी हिमपात र खर्च अभावले गर्दा अलपत्र परेको खवर प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शे फोक्सुण्डो गाउँपालिका–४ स्थित मोती आधारभुत विद्यालय धुङदार, सोही पालिका–२ स्थित कराङ गाजो रिक्युङ आधारभुत विद्यालय कराङ र सोही पालिका–३ स्थित शेल्ड्री डुग्ड्रा आधारभुत विद्यालय समेत तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरले ल्याएर सुर्खेत फिर्ता भएपछि कर्मचारी अलपत्र परेका हुन ।

जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले अलपत्र कर्मचारी ल्याउनको लागि गृहसँग पहल भइरहेको र हुम्लाका केहि मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेकाले हेलिकोप्टर सुर्खेत फिर्ता भएको जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो हुम्लामा मतपेटिका ढुवानी सम्पन्न भएपछि मङ्सिर ७ गते बिहानबाट अलपत्र कर्मचारी ओसार्ने छ ।

उपल्लो डोल्पाबाट सदरमुकामबाट दुनै पैदल आउन एक हप्ता लाग्छ । हिमपात र अत्याधिक चिसोका कारण पैदल हिड्न समस्या भएको साथै पैदल हिडाईको समयमा बीच बाटोमा होटल, लजको व्यवस्था नहुँदा भोक भोकै हिड्नु पर्ने बाध्यता भएको उपल्लो डोल्पामा निर्वाचन सम्पन्न गरेर हेलिबाट दुनै पुग्नु भएका कर्मचारी कमल रोकायाले बताउनु भएको छ ।

सर्वदलीय बैठक सम्पन्न मतगणना शुरु  

हिमाली जिल्ला डोल्पामा मङ्सिर ७ गते दिउँसो ४ बजेबाट मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको चार दिनपछि सदरमुकाम दुनै ल्याउन बाँकी रहेका उपल्लो डोल्पाका मतपेटिकाहरू हेलिकप्टरबाट ल्याएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत डोल्पामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकपछि मतगणना सुरु गर्ने निर्णय भएको हो ।

सर्वपक्षीय सहमतिमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीको एकै साथ मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार पहिलो मतगणना प्रदेश निर्वाचन क्षेत्र (क) बाट गरिने र मतगणना प्रतिपालिका क्रमश वडाबाट शुरु हुनेछ ।


विष्णु प्रसाद देवकोटा