निर्वाचनको प्रचार प्रसारमा गएका काङग्रेस कार्यकर्ता मृत भेटिए

  ०७४ वैशाख २१ गते

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रचारमा निस्केका काङग्रेस कायकर्ता मृत भेटिएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका कलमसिंह लोथ्याल अपि हिमाल गाउँपालिका-६ सितोलाको मज्जे भन्ने स्थानमा मृत भेटिएका हुन् ।

वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका लोथ्याललाई वैशाख २० गते प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए । मृतक लोथ्याल देउली भन्दा यता मज्जेको जङ्गलमा बाटो भन्दा झण्डै २ सय मिटर तल नेपाली काङ्ग्रेसको टिसर्ट लगाएकै अवस्थामा फेला परेका हुन् ।

गत वैशाख १३ गते घरबाट प्रचार प्रसारमा हिँडेका उनी एकसातासम्म बेपत्ता भएका थिए । नेपाली काङ्ग्रेसका अपि हिमाल गाउँपालिका उम्मेदवार लोकेन्द्रसिंह लोथ्याल, प्रचार प्रसार संयोजक मानसिंह बुढाथोकी नेतृत्वको टोलीसँगै घुसाबाट सितोला पुगेका उनी मृत भेटिएका हुन् ।

मृतककी आमा गरूली लोथ्यालले छोराको खोजी गर्न माग गर्दै वैशाख १९ गते प्रहरी चौकी खण्डेश्वरीमा निवेदन दिएपछि खोजी सुरु भएको हो । वैशाख १८ गते स्थानीयले लोथ्यालको खोजी गरेपनि भेट्टाउन सकेका थिएनन् ।

शवलाई पोष्टमार्टमको लागि गोकुलेश्वर ल्याउने तयारी भएको डिएसपी खनालले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय, लटिनाथबाट इन्सपेक्टर रणबहादुर चन्द नेतृत्वको टोली खटिएको छ । लोथ्याल लडेर मरेका हुन, या हत्या गरिएको भन्नेबारे अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ ।


नरेन्द्रसिह कार्की