निर्वाचनका कारण अदालतका सेवा प्रभावित, सेवाग्राहीलाई समस्या

  ०७९ कार्तिक २१ गते

पर्वतको मोदी गाउँपालिका ७ राम्जाकी लक्ष्मी घर्ती आइतबार पर्वत जिल्ला अदालत आउनुभयो । उहाँ २०७६ सालमा दर्ता गरेको जालसाजी मुद्धाको पेशी सुनुवाई हुने गरी तारेख तोकिएपछि अदालतमा आउनुभएको थियो तर अदालतले उक्त दिन पेशी स्थगित भएको सुचना दिएर घर फर्कायो । घर्तीले २०७६ फागुनमा दर्ता गरेको जालसाजी मुद्धा अहिले सम्म ११ पटक अदालतमा पेशी चढेको छ तर अदालतले ३ पटक मात्रै आदेश जारी गरेको छ भने अन्य ८ पटक स्थगित नै भएको छ । लक्ष्मी घर्ती मात्रै होइन पछिल्लो एक साता अदालतमा पेशी तोकिएका दुई दर्जन भन्दा बढी मुद्धा सुनुवाई नै हुन नपाई स्थगित भएका छन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका कारण पर्वत जिल्ला अदालतका काम कारबाही प्रभावित बनेका बनेका हुन् । नियमित कामहरू रोकिँदा सेवाग्राहीले समेत समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

Photo20221107Parbat

निर्वाचन आयोगले निर्वाचन ऐन अनुसार जिल्ला न्यायधिशले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्ने जिम्मा दिएपछि अदालतका कामहरू नियमित रुपमा सञ्चालन हुन सकेका छैनन् । जिल्ला न्यायधिश आनन्दप्रसाद श्रेष्ठ निर्वाचन व्यवस्थापनकै शिलशिलामा अनुगमन तथा निरीक्षण सँग सँगै कर्मचारी खटन पटन कार्यमा व्यस्तता बढेपछि अदालतका सवै जसो मुद्धाहरू स्थगित हुने गरेका छन् । कार्तिक महिनाको १४ गतेदेखिका अदालतमा पेशी चढेका मुद्धाहरू उपर एकादुई बाहेक सवै जसो स्थगित गरिएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाले बताउनुभयो । ‘एउटा मात्रै जिल्ला न्यायधिश रहेको स्थानमा सवै कार्य व्यवस्थापनमा निर्वाचनका कारण असहज भएको छ’ उहाँले भन्नुभयो ‘श्रीमान्ले समय मिलेसम्म मुद्धाहरू हेर्ने र सुनुवाई गर्ने गुर्नभएको छ’ ढुंगानाले सेवाग्राहीहरूलाई सकेसम्म मर्का नपर्ने गरी कार्यसम्पादन गरेको बताउनुभयो ।

जिल्ला न्यायधिश आनन्दप्रसाद श्रेष्ठले निर्वाचनकै कारण मुद्दा छिटो छरितो गरी नियमित रुपमा हेर्न नसकिएको बताउँदै समय व्यवस्थापन गरेर मुद्दाको सुनुवाई गर्दै आएको बताउनुभयो । सर्वोच्च अदालतबाट परिपत्र तथा सुचना जारी नभएसम्म आफुहरूले पूर्ण रुपमा काम स्थगित गर्न नसकिने उहाँले बताउनुभयो । बन्दिप्रत्यक्षिकरण लगायतका थुनछेक आदेश गर्नुपर्ने प्रकृतिका मुद्दाहरू भने नियमित प्रक्रियामा नै रहेको उहाँले जानकारी दिनुभयो ।


सन्तोष थापा