निर्माण कार्य समयमा नबन्दा स्थानीयबासी तुइन तर्न बाध्य

  ०७९ असार २६ गते

कर्णाली नदीमा समयमा पुल नबन्दा मुगुको सोरू गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिकाका स्थानीय बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य भएका छन् ।

मुगु र हुम्ला जिल्लाको संयुक्त रुपमा उपभोक्ता समिति गठन गरेर संचालन गर्ने भनिएको दोमुख पुल हालसम्म निर्माण हुन नसक्दा सो ठाउँका स्थानीय जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका हुन् ।
सरकारले पाँच वर्ष पहिले नै देशभर तुइन हटाउने घोषणा गरे पनि अधिकांश ठाउँमा पुल नबन्दा तुइनकै भरमा तर्न बाध्य भएका छन ।

मुगुको सोरू गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका–१ श्रीनगरका बासिन्दालाई समयमै पुल नबन्दा ज्यानको बाजी राखेर तुइन तर्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीय मोती महतराले बताउनु भयो ।

‘कर्णाली नदि तुइनकै भरमा तर्नु पर्ने बाध्यता अझै कायमै छ । दोमुखमा पुल नबन्दा मुगुको सोरू र हुम्लाको अदानचुलीका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन्’ उहाँले भन्नुुभयो ।
मुगु जिल्लाको सोरू गाउँपालिका–३ र हुम्लाको अदानचुली गाउँपालिका–१ को कल्खेमा जोड्ने दोमुख पुल निमार्ण नगर्दा आफूलाई वारपार गर्न समस्या भएको स्थानीय दिपक महतराले दुःखेसो गर्नु भयो ।

मुगुको सोरू गाउँपालिका–३ वडाको धइन कोट, १० नम्वर वडाको कोजैसीवाडा, धैन, दई, ११ नम्वर वडाको कोट, तल्लीवाडा, रोकायावाडा र हुम्लाको अदानचुली गाउँपालिका–१, २, ३ को कल्खे, फडेरा बाडा, भण्डारी वाडा, थापागाउँ, रोकायावडा, महतरावाडा लगायतका बासिन्दाहरू तुइन तर्न बाध्य भएका छन ।

पुल निर्माणको जिम्मा पाएका उपभोक्ताहरू वर्षौदेखि पुल अलपत्र बनाएका कारण आफूहरूलाई सास्ती भएको स्थानीय मक्क महताराले बताउनु भयो ।

तुइन विस्थापित गर्ने सरकारले घोषणा गरेको पाँच वर्ष भइसक्दा पनि काम संचालन नहुँदा दैनिक उपभोग्य बस्तुसमेत तुइनबाटै ओसार पसार गर्नुपरेको स्थानीयको गुनासो छ । तुइनबाट वारपार गर्न बिरामी, महिला र बालबालिकालाई कठिन हुने गरेको महताराको भनाइ छ ।

पुल निर्माणका लागि मुगु र हुम्ला दुवै जिल्लाका व्यक्तिहरूको संयुक्त रुपमा उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समिति गठन गरेर पुल निर्माण गर्ने भनेको चारवर्ष विति सक्दा पनि उपभोक्ता समितिका पदाधिकारीले हालसम्म पुल निर्माणको कार्य अघि नवढाएको स्थानीय मोहन सिंह बुढाले गुनसो गर्नु भयो ।

प्रादेशिक प्राविधिक सहयोग इकाई सुर्खेतका प्राविधिक झुल बहादुर शाहीले २०७६ देखि पुल निर्माण कार्य गर्ने भनिएता पनि कोभिड १९ का कारण जिल्ला बाहिर चितवनबाट पुलको फलामे सामग्रीहरू ढुवानी हुन नसक्दा ढिलाई भएको बताउनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष नर थापाले समयमै सामग्री ढुवानी हुन नसक्दा ढिला हुन गएको बताउनु भयो । उहाँले भन्नु भयो आगामी साउनदेखि पुलको निर्माण कार्य हुने भएको छ । उहाँका अनुसार अदानचुली गाउँपालिका गत ०७६/०७७ को विनियोजित बजेटबाट उक्त पुलका लागि करिव ९२ लाख रुपियाँ छुट्याएको हो ।

उहाँले भन्नु भयो यो वर्षको वैशाखबाट शुरु गर्ने भनिएको थियो तर ०७९ को स्थानीय तहको निर्वाचनले गर्दा काम गर्न नसकिएको र अब साउन महिनादेखि नियमित पुल निर्माण गरिने भएको उपभोक्ता समितिका अध्यक्ष नर थापाले जानकारी दिनु भयो ।
Humlaphoto20220710 (1) Humlaphoto20220710 (2) Humlaphoto20220710 (3) Humlaphoto20220710 (4)


नन्द सिंह