निर्माण कम्पनीबाट कामदार कुटिए, अरोपित गिरफ्तार

  ०७९ साउन ७ गते

ताँजाकोट गाउँपालिका–३ का १८ वर्षीय कामदार खेमराज सार्कीलाई ताँजाकोट गाउँपालिकाको अस्पताल बनाउने जिम्मा लिएको कम्पनीका व्यक्तिहरूले साउन ५ गते कुटपिट गरेका छन ।

घटनामा संलग्न भएको आरोपमा कम्पनीमा कार्यरत सिमकोट गाउँपालिका–८ का ३० वर्षीय हंसबहादुर शाही र २२ वर्षीय तिर्थराज शाहीलाई ताँजाकोटको छप्रेला प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।
ताँजाकोट गाउँपालिकाको १५ शैयाको अस्पतालको भवन बनाउने जिम्मा लिएका निर्माण कम्पनीका व्यक्तिहरूले साउन ५ गते कुटपिट गरि घाइते बनाएपछि आरोपित विरुद्ध साउन ६ गते ताँजाकोटको छप्रेला प्रहरी चौकीमा उजुरी आएको प्रहरी चौकीका सई बलिभद्र पनेरुले बताउनु भयो ।

उक्त अस्पतालमा दिनभर काम गरेर बेलुका आफ्नो ज्याला माग्ने क्रममा निर्माण कम्पनीका व्यक्तिहरूले म्याद सकिएको बिस्कुट दिएपछि सामान्य विवाद भएपछि कम्पनीका व्यक्तिहरूले कुटपिट गरेको घाइतेका आफन्त विष्णु बस्यालले बताउनु भयो । मजदुर खेमराजको टाउकोमा चोट लागेको छ ।

बस्यालले भन्नु भयो शाहीले काठको डण्डीले श्रमिक खेमराजको टाउकोमा प्रहार गरे । घाइते सार्की बेहोस भएपछि साउन ५ गते उनलाई ताँजाकोट गाउँपालिकाको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । खेमराजको प्राथमिक उपचार ताँजाकोट स्वास्थ्य चौकीमा भएपछि साउन ६ गते सुविधायुक्त अस्पतालमा रिफर गरेको ताँजाको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राजेन्द्र स्यांकुले जानकारी दिनु भएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि डम्बर शाहीका अनुसार आफू भर्खरै बाजुुराबाट आइपुुगेको र म्याद सकिएको बिस्कुटको कारण झडप भएको जानकारी पाएको बताउनु भयो । घाइतेको अवस्थालाई हेरेर छलफल हुन सक्ने सई पनेरुले बताउनु भयो ।


नन्द सिंह