निर्माणाधिन चिस्यान गृह अलपत्र अवस्थामा, किसानहरु समस्यामा

जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा  रहेका कारण स्थानीय किसानहरु समस्यमा परेका छन् ।

चिस्यान गृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूललगायतका कृषिजन्य बस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय किसान डबल रोकायाले गुनासो गर्नु भयो ।

मौसम अनुसार उत्पादन गरेका कृषिजन्य बस्तुलाई वेमौसमी समयमा बिक्री वितरण गर्न र बजारमा बिक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यान गृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिँएर खेर जाने गरेको उहाँले बताउनु भयो ।

photo20240208bajura (1)

चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मुल्यमा किन्नु पर्ने र किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता रहको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख मीनप्रसाद जैशीले किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप सितभण्डार केन्द्र निर्माण कार्य सुरु भए पनि सम्पन्न नभएपछि उत्पादन गरेका तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अहिले कृषि ज्ञान केन्द्रले किसानको बारीबाटै सुन्तला ढुवानी अनुदानमा सहयोग गरेको छ चिस्यान गृह सञ्चालन भएको भए तीन महिनापछि किसानले राम्रो मूल्यमा बिक्री गरेर आम्दानी गर्न सक्थ्ये । चिस्यान गृह नहँुदा सस्तो मूल्यमा बिक्री गर्नु परेको छ । अहिले  प्रति किलो १ सय रुपियाँमा बिक्री  भएको सुन्तला तीन महिनापछि २ सय रुपियाँ बढीमा बिक्री हुन्थ्यो ।’

कृर्षि निर्देशनालय, दिपायलका कृर्षि इन्जिनियर कोषराज बडुका अनुसार २०७८ वैशाख महिनामा ठेक्का समझौता भएर सोहि आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्नेे गरी एस.एच कन्स्ट्रक्सनले कामको ठेक्का सम्झौता गरको भए पनि तोकिएको समयमा चिस्यान गृह निर्माण कार्य नभएकोले समस्या भएको बताउनु भयो ।

photo20240208bajura (3)

कुल  ५६ लाख ४९ हजार ५ सय ८० रुपियाँमा ठेक्का आह्वान भएकोमा जिम्मा पाएको कम्पनीले ४१ लाख ९६ हजार ६ सय ४५ रुपियाँमा सम्झौता गरेको उहाँले बताउनु भयो ।

उक्त कोल्ड च्याम्मर निर्माण कार्य बजेट अभावका कारण अलपत्र परेपछि सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषद्बाट बजेट थप गर्ने निणर्य भएपछि अब लगत्तै काम सुरु हुने कृर्षि निर्देशनालय, डोटीका कृर्षि इन्जिनियर बडुको भनाइ छ ।

जिल्लामै २० टन क्षमता भएको कोल्ड च्याम्मर बनेपछि जिल्लामा उत्पादन हुने आलु, बन्दगोपीलगायतका तरकारी, स्याउ र तरकारी भण्डारण गर्न सहयोग पुग्ने कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ ।


पदमबहादुर सिंह