निर्माणाधिन अस्पतालको भवन बजेट अभावमा अलपत्र अवस्थामा

  ०८० चैत २१ गते

भिमाद नगरपालिका– ६ मा निर्माणाधिन भिमाद अस्पतालको भवन बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनु भयो ।

११ करोड ५२ लाख ९ हजार ९ सय ६३ रुपियाँको लागतमा भवन निर्माण थालिएको थियो । उक्त अस्पतालको हालसम्म २५ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलले बताउनु भयो । पौडेलका अनुसार निर्माण कम्पनीलाई हालसम्म २ करोड ९४ लाख ९३ हजार १ सय ५९ रुपियाँ भुक्तानी गरिएको छ ।

भवन निर्माणका लागि राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सन संग २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा काम पुरा नभएकाले पुन २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताउनु भयो । ।

बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले बजेट निकासाको लागि संघीय सरकारले ध्यान दिनुपर्ने नगर प्रमुख सुवेदीले बताउनु भयो ।

bhimad hospital 080-12-21 tanahun


प्रकाशचन्द्र भट्टराई