निर्मला कुर्मीको घटनासम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

  ०८१ असार ७ गते

बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै राष्ट्रिय मानव अधिकार आयोगले ०८१ असार ७ गते प्रेस नोट जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय दिन माग गर्दै वर्षौंदेखि अनशन तथा प्रदर्शन गर्दै आएको सम्बन्धा रुवी खानलगायतसाग भएको सम्झौताको कार्यान्वयनको अवस्था बारेमा सो प्रेस नोट मार्फत गृह मन्त्रालयलाई पत्राचार गरेको समेत जनाएको छ ।

प्रेस नोटमा आयोगले आन्दोलनको अनुगमन गरेपछि गृह मन्त्रालयलाई सम्झौता कार्यान्वयनको प्रगति सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको हो ।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्यायको मागसहित खानको समूहले २०७८ सालदेखि काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।

कुर्मीको घटना छानबिनका लागि २०७८ कात्तिकमा गृह मन्त्रालय अन्तर्गत छानबिन समिति गठन भएको आयोगले जनाएको छ । उक्त समितिको प्रतिवेदनमा दोषीलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको जानकारी प्राप्त भएको आयोगको प्रेस नोटमा उल्लेख छ ।

तर, सरकारी प्रतिनिधि र आन्दोलनमा रहेको समूहबीच सम्झौताहरू भए पनि कार्यान्वयन हुन सकेको छैन ।

अतः उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरू एवम् उल्लेखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी उपलब्ध गराइदिन आयोगले भनेको हो ।

नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) बमोजिम आयोगले अनुरोध गरेको जनाएको छ ।

समितिको सिफारिस कार्यान्वयनको समेत माग राखी ०८१ जेठ २५ गतेदेखि काठमाडौँमा अनशन बसिरहेकी रुबी खानको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।


दीपकप्रसाद घिमिरे