निर्धारित मितिमै निर्वाचनः आयोग

निर्वाचन आयोगले मङ्सिर १० र २१ गतेका लागि तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कात्तिक १ गते आयोगको कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन हुँदैन कि भन्ने आशङ्का अब कसैले पाल्नु नपर्ने भन्दै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।

उनले कात्तिक १ गते सर्वोच्च अदालतको फैसलासमेत निर्वाचनकै पक्षमा आएको भन्दै अब निर्वाचन हुँदैन कि भन्ने आशङ्का हटेको बताएका हुन् ।

'सर्वोच्चको आदेश निर्वाचनकै पक्षमा आएको भन्ने सुनेको छु । असोज २९ गते नै ठूलो उत्साहका साथ दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि उमेदवारहरूको बन्दसूचीसमेत बुभ्न । यसबाट मङ्सिर १० र २१ गते निर्वाचन हुने सुनिश्चित भएको छ । तोकिएकै मितिमा निर्वाचन हुन्छ ।'-प्रमुख आयुक्त यादवले भने ।

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।

प्रमुख आयुक्त यादवले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुने भन्दै आयोग त्यसको व्यवस्थापनमा लागि रहेको बताए ।

यादवले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सदरमुकामहरूमा असोज २९ गते नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको भन्दै प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कात्तिक ५ गते आआफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गर्न सकिने बताएका हुन ।

प्रदेश र प्रतिनिधिसभाका लागि एउटै मतपत्र

आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि एउटै मतपत्र प्रयोग गरिने स्पष्ट पारेको छ । असोज १७ गतेबाट नै दुवै निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको भन्दै एकै मतपत्रमा प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन चिन्ह रहने स्पष्ट पारेको हो ।

आयोगले समानुपातिकतर्फको निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्नेमा बुधबार सम्म ९० लाखभन्दा बढी मतपत्र छपाई भइसकेको भन्दै कात्तिक ७ गतेसम्ममा सबै छपाई सकिसक्ने जनाएको छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो रङको मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता सहभागी हुन पाउने छन् ।

आयोगले पछिल्लो पटक थप गरेको नामावलीसहित सो सङ्ख्यामा रहेका मतदाता ३२ जिल्लामा हुने निर्वाचनमा मतदानमा सहभागी हुन पाउने भएका हुन ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कूल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताले सहभागिता जनाउन पाउने छन् ।

एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते गरिने निर्वाचनका लागि एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने जनाएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै बदर मत कम गर्न एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको हो ।

आयोगले स्थानीय तह निर्वाचनमा भन्दा बढी स्थानमा नमूनमा मतदानसमेत गराइने भन्दै २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन हुने जनाएको हो ।

१६ राष्ट्रभाषामा मतदाता शिक्षा

निर्वाचन आयोगले निर्वाचनमा बदर मतलाई कम गर्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न प्रक्रिया अघि बढाएको छ ।

निर्वाचन शिक्षा कार्याक्रमलाई प्रभावकारी बनाउन भन्दै आयोगले १६ राष्ट्रभाषामा निर्वाचन शिक्षा सामग्री बनाउने जनाएको हो ।

यस्तै आयोगले निर्वाचनका लागि आठ प्रकारका तालिम सञ्चालन सुरू गरिसकेको जनाएको छ । जस अनुसार निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, निर्वाचन र सुरक्षा व्यवस्थापन, मतदान र मतगणना तथा राजनीतिक दलसँग सम्बद्ध युवाहरूका लागि प्रशिक्षण दिइने आयोगले जनाएको छ ।

पहिलेकै मतपेटिका प्रयोग गरिने

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि यस अघिका निर्वाचनमा व्यवस्थापन गरिएका मतपेटिका नै प्रयोग गरिने जनाएको छ ।

आयोगले सो को व्यवस्थापनका लागि तयारी अघि बढाएको भन्दै पहिले प्रयोग भएका मतपेटिका नै आगामी निर्वाचनमा समेत प्रयोग हुने जनाएको हो ।


सुभाष साह