निरन्तर वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित

  ०८१ असार २४ गते

तीन दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको हो ।

रुकुम पूर्वमा तीन दिनदेखिको निरन्तर वर्षाले जिल्लाका नागरिकहरूको जनजीवन प्रभावित भएको छ । वर्षातका कारण पहिरो जाने र खोलाको वहाव बढेपछि जिल्लाका मुख्य सडक अवरुद्ध हुँदा नागरिकहरूलाई सास्ती भएको छ ।

निरन्तर परेको पानीले बाटोमा पहिरो जाँदा रुकुम पूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा जोखिमपूर्ण भएको छ । सडक निर्माणको अन्तिम चरणमा रहेको रुकुम पूर्व–पश्चिम खण्डका विभिन्न ठाउँबाट पहिरो खस्ने र सडक भासिने समस्याले सडक अवरुद्ध हुने गरेको छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सूचना जारी गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यक बाहेक यात्रा नगर्न सूचना मार्फत सबैलाई जानकारी दिनुभएको हो ।

?s'd k'j{, @# c;f/M dWokxf8L nf]sdfu{df klx/f] ?s'd k"j{df klx/f]sf sf/0f cj?4 ePsf] dWokxf8L nf]sdfu{ . clj/n jiff{sf sf/0f zlgaf/ laxfg ;8sdf klx/f] em/]kl5 ;jf/L ;fwg ;~rfng x'g ;s]sf] 5}g . tl:a/M ;h{gf sfsL{÷/f;;

रोल्पा जिल्ला प्रतिनिधि तीलक घर्तिमगरका अनुसार निरन्तर परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि बढेको वर्षातको कारण जिल्ला विभिन्न सडक अवरुद्ध छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय क्षति भएको छैन । जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा निकै कठिनाइ हुँदै आएको छ । भिरालो जमिन माथिबाट ढुङ्गा खस्ने हुनाले त्यहाँ सवारी चलाउन कठिन भएको हो ।

भालुवाङबाट प्यूठानहुँदै लिवाङ जाने सडक अवरुद्ध हुँदा निर्माण सामग्री गाउँसम्म पुर्‍याउन कठिन भएको छ । यस वर्ष विगत वर्षभन्दा कम पानी परेकोले ठूलो समस्या भएन तर यसहप्ताको वर्षातले सडक सुचारु नभएकोले जवजीवन प्रभावित भएको मानव अधिकारकर्मी घनश्याम आचार्यले बताउनु भयो । भालुवाङ-लिवाङ सडक आसपासमा अवरुद्ध भइरहने कारण नियमित एम्बुलेन्स तथा दैनिक उपभोग्य वस्तुहरू लैजान समस्या हुने गरेको छ । गाउँगाउँमा आपतकालीन स्वास्थ्य सेवा लिन एम्बुलेन्स आवत जावतमा समस्या परेकोले पहिरोले पुरिएका सडक चाँढै मर्मत गर्नुपर्ने स्थानीयहरूको माग छ ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार तीनदेखि लगातार वर्षा हुँदा जिल्लाका विभिन्न स्थानीय तहरूमा नागरिकहरूका घर गोठ, विद्यालय र सडकमा बढी क्षेति भएको छ ।

अत्यधिक वर्षाले गर्दा ०८१ असार २२ गते पहिरो जाँदा प्यूठान नगरपालिका-५ मा रहेको चान्जा बालविकास केन्द्रको भवन पूर्ण रूपमा क्षति भएको र सोही ठाउँमा रहेको गुमानसिंह खड्काको घर गोठ पहिरोको जोखिम रहेकोले आफन्तको घरमा बस्नुभएको छ । यसैगरी प्यूठान नगरपालिका—१० को भुसवाङ्ग खोलामा आएको बाढीले स्थानीय दिपक जिसी घरमा पसी क्षति पुराएको र आन्य तीन ओटा घरहरू पनि जोखिम रहेकाले ती घरका व्यक्तिहरू अन्य सुरक्षित ठाउँमा राखिएको छ । सरुमारानी गाउँपालिका—५ मा पहिरो जाँदा ४३ वर्षीया ज्ञानिसरा घर्तीको घर पूर्ण रूपमा क्षेति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले जानकारी दिनुभयो ।

प्यूठानको अन्य जिल्लासँग जोड्ने एक मात्र सडक भालुवाङ्ग-प्यूठान सडकको बेला बेलामा पहिरोका कारण अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भएको छ । जिल्लाका भित्री सडकहरू पूर्ण रूपमा अवरुद्ध भएकोले पानी निरन्तर परिरहेकाले सुचारु गर्न समय लाग्ने इन्स्पेक्टर केसीले बताउनु भयो । हालसम्म जिल्लामा कुनै पनि मानवीय क्षेति नभएको इन्स्पेक्टर केसीले जानकारी दिनुभयो ।

Photo08072024Pyuthan

Photo08072024Pyuthan1

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा तीन दिनदेखि परेको वर्षातका कारण नागरिकको जनजीवन अत्यन्तै प्रभावित बनेको छ । वर्षातको कारण पहिरो जाने र खोलाको वहाव बढेपछि शाखासहित मुख्य सडक अवरुद्ध हुँदा एम्बुलेन्स समेत हिँड्ने अवस्था रहेको छैन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीमा खण्डको रुरुक्षेत्र र गुल्मीदरवार गाउँपालिकामा पहिरोले सडक अवरुद्ध बनेको छ ।

त्यस्तै इस्मा र मालिकाका खोलाहरूमा वहाव बढेका कारण रातिबाटै कुनै पनि सवारीसाधन गुड्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै रिडी रुद्रवेणी वामी सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाने र उल्लीखोला र नादेवा क्षेत्रमा बाढी आएका कारण सडक पूर्ण रूपमा बन्द भएको पोख्रेलले बताउनु भयो । सडक अवरुद्ध हुँदा लामो तथा छिटो दुरीका सवारी साधन गन्तव्य विहिन बनेका छन् । जसका कारण बिरामी र अत्यावश्यक कामले हिँडेकाहरू बाटोमा अलपत्र परेका छन् ।

वर्षातको कारण अधिकांश स्थानीय तहका साना सडकहरू अवरुद्ध भएका छन् । पहिरोले सत्यवति गाउँपालिका–३ का ३५ वर्षीय रेशम पुलामीको घर पुरेर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । पुलामीसहित जोखिममा रहेका परिवार केहि पर छिमेकीकोमा राख्ने काम भएको सत्यवति गाउँपालिका–३ का वडाध्यक्ष जितु तरामुले जानकारी दिनुभयो । ०७६ सालमा गाउँपालिका–३ र ४ मा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो । बस्तीनै धाँजा फाटेकाले स्थानीय वर्षातमा अझै ढुक्कले निदाउँदैनन् । त्यस्तै वर्षातकै कारण छत्रकोट गाउँपालिका–१, २ र सत्यवती गाउँपालिकाको विभिन्न क्षेत्रमा दुई दिनदेखि विद्युत सेवा ठप्प भएको छ । अविरल वर्षाका कारण पहिरोले गुल्मीदरबार गाउँपालिका–४ को बिरबास बजार नजिकैको ११ केभिए प्रशारण लाइनको दुई ओटा पोलमा ढलेकाले बिद्युत अवरुद्ध भएको बिरबास सवस्टेशनले जनाएको छ ।

Photo08072024Gulmi

Photo08072024Gulmi1

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार अविरल वर्षासँगै आएको बाढीले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङ खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

गोठादीको सातपोखरी गएर माहिलाचौर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको र खोजतलास गर्ने क्रममा राति मात्र ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।

बगनासकाली गाउँपालिका–६, यम्घामा दुई घर पहिरोले पुरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताउनु भयो । यम्घाटारीका उषा सुनार र रेशम सुनारको घर माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोले घर पुरिँदा घरभित्रका सामान, लत्ताकपडा, अन्नपात सबै नष्ट भएको वडाध्यक्ष अधिकारीले बताउनु भयो । रामपुर नगरपालिका–९, मधुकोटमा कमलबहादुर साठीघरेको गोठ पुरिँदा चार ओटा पशुचौपायाको मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

Photo08072024Palpa

Photo08072024Palpa1

अर्घाखाँची जिल्ला प्रतिनिधि कुलबहादुर नेपालीका अनुसार अर्घाखाँची जिल्लाका ६ ओटै स्थानीय तहमा ०८१ असार २१ गतेदेखि असार २३ गते साँझसम्म लगातार तीन दिनसम्म भारी वर्षा भइरहेको छ । वर्षाका कारण मानवीय क्षति भएको छैन । वर्षासँगै आएको पहिरोले सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिङे सडक दहखोला र बहोखर खण्डमा निरन्तर पहिरो खस्दा सडक अवरुद्ध भएकोले फुद्वाङ् बलेवाङ् हुँदै पाली अड्गुरीको बैकल्पीक बाटो भएर यात्रा गरी गोरुसिङे निस्कन प्रहरीले अनुरोध गरेको छ ।

सडक अवरुद्ध हुन नदिन पहिरो पन्छाउने कार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिनुभयो । सन्धिखर्क नगरपालिका-१, कारागार लाइन कबडहल नजिकै सन्धिखर्क–गोरुसिङे सडकमा पहिरो जाँदा बिजुलीको पोल ढलेपछि ६ घण्टा जति बिजुलीको लाइन अवरुद्ध भएर सन्धिखर्क बजार क्षेत्र प्रभावित भएको छ । शितगङ्गा नगरपालिका-२, सीतापुर बजारमा गत सालको भूकम्पले असर परेका तीन ओटा घर अविरल वर्षाका कारण भत्केर क्षति भएका छन् । क्षति हुनेमा शितगङ्गा नगरपालिका-२ का स्थानीय दशरथ गुरुङ, विष्णु बहादुर थापा, सन्तोष घर्तिमगर र बब्लु गुप्ताका परिवार विस्तापित भएका छन् ।

शितगङ्गा नगरपालिका-२, सुपादेउराली मन्दिर नजिकै रहेको लाहुरे बजार सन्धिखर्क–गोरुसिङे सडक खण्डमा पहिरो जाँदा हाइटेन्सन तार सहित रहेको विद्युतीय पोल उच्च जोखिम रहेको छ ।

पश्चिम नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार अविरल वर्षासग नारायणी नदिमा आएको बाढीका कारण नदीमा दाउरा टिप्न गएका एक जना व्यक्ति वेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण सुस्ता गाउँपालिका-५, सकरदिनई बस्ने ३३ वर्षीय अर्जुन चमार असार २२ गते साँझ नारायणी नदीमा दाउरा टिप्ने क्रममा अचानक बेपत्ता भएका हुन् । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । बेपत्ता भएको २४ घण्टा हुनै लाग्दा पनि अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डिएसपी बोहोराले बताउनु भयो ।

लगातार वर्षाका कारणले नारायणी नदीमा अझै पनि पानीको सतह खतराको तहभन्दा माथि रहेको छ । बाढीका कारण प्रतापपुर, पाल्हीनन्दन, सुस्ता र सरावल गाउँपालिकाका जनताहरू बस्ती सखाप हुने चिन्ताले आतङ्कित भएका छन् ।

४ लाख क्युसेकलाई नै खतराको तहका रूपमा मानिने नारायणी नदिमा ४ लाख ३० हजार क्युसेकभन्दा बढीको रफ्तारमा बाढी आएको र विपत व्यवस्थापनका लागि सुरक्षा संयन्त्र परिचालन गरेको विपत व्यवस्थापन प्रमुख तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार ०८१ असार २१ गतेदेखि तीन दिनसम्म लगातार परेको अविरल वर्षाले रुपन्देही जिल्लाको अवस्था अस्तव्यस्त बनाएको छ । वर्षाका कारण अवस्था सामान्य रहेको छ । जिल्लाका जोखिम क्षेत्रहरू विशेषगरी तिनाउ नदी, दानव र रोहिणी नदीको छेउछाउमा रहेको वस्तीहरूलाई सुरक्षित हुन र केही जोखिम हुने सङ्केत पाएमा जिल्ला विपद व्यस्थापन समितिका पदाधिकारीहरू र सुरक्षाकर्मीहरूलाई जानकारी गराउन स्थानीय नागरिकहरुलाई आग्रह गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला विपद्बाट हुन सक्ने जोखिमलाई कम गर्नको लागि प्रतिकार्य योजना निर्माण गरी अगाडि बढेको र विपदमा जोखिम हुनसक्ने क्षेत्रमा सुरक्षाकर्मीहरू र उद्दारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । जिल्ला अहिलेसम्म कुनै पनि भौतिक तथा मानवीय क्षति नभए पनि नदीहरूमा पानीको वहाव बढेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।

Photo08072024Kapilbastu1

कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार अत्यधिक पानी परेका कारण कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक पानी परेका कारण तौलिहवा बजारमा रहेका अधिकांश घरहरूमा पानी पसेको स्थानीय मानव अधिकारकर्मी विमला पौडेलले बताउनु भयो । तीन दिनदेखि लगातार परेको पानीका कारण खेतहरू पनि जलमग्न भएको उहाँले बताउनु भयो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार तीन दिनदेखि परेको अविरल वर्षातका कारण कपिलवस्तु जिल्लामा पानीको सतह बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका–१०, हर्दोनामा दुई ओटा घर कटानको जोखिममा रहेकोले घरमा रहेका सामाग्रीहरू र मानिसहरूलाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनु भयो । जिल्लामा वाणगङ्गा नदी, कैली र सुरही नदिले कटान, पटान र डुवान हुनसक्ने भएकोले सो क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रूपमा रहन आग्रह गरिएको र सम्भावित जोखिमलाई मध्यनजर गर्दे तीनै तहका सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको र अहिलेसम्म त्यस्तो कुनै भौतिक तथा मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।

Photo08072024Kapilbastu

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार अविरल वर्षाले दाङमा ०८१ असार २२ गते एक जनाको मृत्यु भएको छ भने अरु दुई जना बगेर वेपत्ता भएका छन् । राजपुर गाउँपालिका–५, सालभौडी गङ्गदी खोलामा आएको बाढिले रा १ त २१६६ नम्बरको टेक्टर पल्टिँदा च्यापिएर त्यसमा सवार सोही ठाउँका ५२ वर्षीय छेदुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा परेका २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय महेश यादव घाइते हुनुभएको छ ।

यसगैरी लमहीबाट दूध बेचेर घर फर्कँदै गर्दा राप्ती नदिले बगाउँदा राजपुर गाउँपालिका–२, बेलाका १९ वर्षीय राजकुमार यादव बेपत्ता हुनुभएको छ । उहाँसँगै घर फर्किदै गरेका ३४ वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादवलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । यसैगरी लमही नगरपालिका–८, बगरपुर नयाँवस्तीका ६२ वर्षीय मनिराम चौधरीलाई राप्ती नदीको बहाव बढेर बगाउँदा बेपत्ता हुनुभएको छ । बेपत्ता दुवै जनाको खोजी भइरहेको एसपी केसीले जानकारी दिनुभयो ।

असार २१ गते रातिदेखि लगातार परेको वर्षाका कारण लमही नगरपालिका–७, हस्नापुर, राप्ती गाउँपालिका–५, लठहवा डुवानमा परेका छन् भने राप्ती गाउँपालिका–३ मा रहेको लुम्बिनी प्रदेशको राजधानी क्षेत्र पनि डुवानमा परेको छ । लगातारको वर्षाले राप्ती र बबईमा पानीको वहाव बढेको छ भने अन्य सहायक खोलामा पनि बाढी बढेकोले सतर्कता अपनाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ ।

Photo08072024Dang

बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार मधुवन नगरपालिका–५ की ३२ वर्षया शान्ता खड्का जङ्गलमा च्याउ टिप्न जाँदा नाला तर्ने क्रममा नालामा डुबेर बेपत्ता हुनुभएको छ । बेपताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्साीराम अर्यालये बताउनु भयो ।

बर्दिया बाढी तथा पहिरोको जोखिममा रहेको छ । प्रत्येक वर्ष आउने बाढीले गेरुवा, राजापुर, गुलरिया, बारबर्दिया, ठाकुरबाबा र बासगढी नगरपालिका बढी प्रभावित हुने गरेको छ । बाढीको जोखिम रहेका स्थानका बसोबास गर्ने बर्दिया बासीलाई सजग र सतर्क रहनु साथै महत्त्वपूर्ण कागजात, गरगहना, नगद, जिन्सी र खाना सुरक्षित स्थानमा राख्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

बाढीबाट ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका, गर्भवती र बिरामी बढी जोखिममा रहने भएकोले उहाँलाई सुरक्षित स्थानमा राख्न जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्यालले जोड दिनुभयो ।  उहाँले ज्यानलाई जोखिममा राखेर नदी बढेको समयमा बगेको काठ समात्ने र माछा मार्ने काम गर्न नहुने बताउनु भयो ।

गुलरिया नगरपालिका–११, इन्द्रपुरका त्रिभुवन मल्लाहाले नदी किनारमा घर भएकोले प्रत्येक वर्ष बाढीको सामना गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'भादा नदीमा बनेको तटबन्ध कमसल रहेको कारण प्रत्येक वर्ष भत्किने गरेको छ । जसका कारण इन्द्रपुर टोलमा रहेका घरहरू जोखिममा छन् । पटक पटक पक्की भवनको लागि बजेट माग गर्दा पनि सुनुवाइ हुन सकेको छैन ।

Photo08072024Bardiya1

Photo08072024Bardiya

बाँके जिल्ला प्रतिनिधि ध्रुबराज शर्माका अनुसार लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाँकेमा राप्ती नदी तथा अन्य खहरे खोलाको पानीले डुडुवा गाउँपालिका-१ र २ मा आएको बाढीले त्यहाँका नागरकहरूलाई सास्ती भएको छ ।

नरैनापुर गाउँपालिका-५, मटेहियास्थित महेन्द्र माविको पर्खाल भत्किएकोले बालबालिकाहरूको पढाइ अवरुद्ध भएको छ । नरैनापुर गाउँपालिका-६, गङ्गापुरमा रहेको शसस्त्र प्रहरीबलको कैम्प लगायत गङ्गापुरदेखि मटेहिया भगवानपुर भोजपुर जोड्ने सडकको माथि पानीको वहाव बढेकाले महिला, बालबालिका तथा ज्येष्ठनागरिकहरूलाई घरबाट बाहिर निस्कन समस्या भएको स्थानीय विक्रम वर्माले बताउनु भयो ।

राप्ती नदीमा आएको ठूलो बाढीले गर्दा पुल भए पनि वारिपारी गर्न गाह्रो भएको स्थानीय रामलाल थारुले जानकारी दिनुभयो । जिउ ज्यान सुरक्षाका लागि पुलदेखि राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा जाने बाटो अवरुद्ध भएको छ । जसले दैनिक रुपमा आवत जावत गर्ने सर्वसाधारण सहित बालबालिका तथा विद्यार्थीहरू समेत प्रभावित भएका छन् ।

Photo08072024Banke

Photo08072024Banke1

Photo08072024Banke2


इन्सेक लुम्बिनी प्रदेश कार्यालय