निरन्तर भइरहेको वर्षाले विद्यालय भवन पहिरोको जोखिममा

  ०८१ असार २६ गते

लगातारको वर्षा पछिको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको हिमालय माविको चार कोठे भवन जोखिममा परेको छ ।

भूकम्प पछि बनेको भवन सामुन्ने पहिरो खस्न सुरु गर्दा भवन जोखिममा परेको हो । ढोडेनी–सौरपानी सडक स्तरोउन्नतीको क्रममा ठेकेदारले विद्यालयतर्फको भाग कटिङ गर्दा अहिले विद्यालय भवन नै पहिरोको जोखिममा परेको स्थानीय बताउँछन् । ‘सडक बिस्तार गर्दा त्यसै खनेर छाडिदिए, पर्खाल पनि लगाइएन,’ विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पनेरुले भन्नुभयो, ‘सडक फराकिलो बनाउँदा विद्यालयतर्फ एक/डेड मिटर काटिङ भएको थियो, एक वर्ष पहिले यसरी कटान गर्दा अहिले विद्यालयतर्फको भाग खस्न सुरु गर्‍याे ।’ चार कोठे विद्यालय भवन सँगैको शौचालयसम्म पहिरो आइपुगेको छ । जसका कारण शौचालय चर्किएर जोखिममा परेको छ ।

विद्यालयको प्रशासन समेत रहेको चार कोठे भवन र पुस्तकालय भवन पहिरोले जोखिममा परेको उहाँले बताउनुभयो । ‘जगै भित्रबाट पहिरो झर्‍याे, यही तालले पहिरो खसिरहे यो भवन त्यसै जोखिममा छ, उहाँँले भन्नुभयो ।

१३ रोपनी क्षेत्रफलमा विद्यालयका संरचना बनाइएको छ । सडक विस्तार गर्दा प्राविधिक र ठेकेदारको लापरवाहीले विद्यालय भवन जोखिममा परेको स्थानीय बताउँछन् । तत्काल पहिरो रोकथामको काम नगरे थप क्षति हुने स्थानीयले बताएका छन् । विद्यालय जोखिममा परेको बारे गाउँपालिका लगायत सरोकार राख्ने कार्यालयमा जानकारी गराइएको पनि उहाँले बताउनुभयो । पहिरो निरन्तर झरिरहे अन्य भवनलाई पनि जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता जनाएका छन् ।

1720597860619


हरिराम उप्रेती