निजी अस्पताल आबुँखैरेनी अस्पतालमा समायोजन हुने

  ०८१ साउन ७ गते

तनहुँको आबुँखैरेनीमा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल प्रा. लि. आबुँखैरेनी आस्पतालमा समायोजन हुने भएको छ । उक्त समायोजन सम्बन्धी सम्झौतापत्रमा ०८१ साउन ६ गते आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पताल प्रा.लि.को तर्फबाट अध्यक्ष कृष्णमान तामाङले हस्ताक्षर हस्ताक्षर गर्नु भएको छ ।

Photo2024July222024 Tanahau
आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र नभइ सिङ्गो गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य हव बनाउने उद्देश्यले गाउँपालिकाबाट सञ्चालित आँबुखैरेनी अस्पताललाई निकट भविष्यमा नै ५० शैयाको अस्पताल बनाउने लक्ष्यका साथ आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित छिम्केश्वरी अस्पताल प्रा.लि. लाई आँबुखैरेनी अस्पतालमा समायोजन हुने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनु भयो ।

उक्त सम्झौतापत्रमा छिम्केश्वरी अस्पताल प्रा.लि. को स्वामित्वमा रहेको सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधी एवं औषधीजन्य वस्तुहरू आँबुखैरेनी अस्पताललाई हस्तान्तरण गर्ने, हस्तान्तरित वस्तुहरूको मूल्याङ्कन गरी आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने तथा छिम्केश्वरी अस्पताल प्रा. लि. का हाल रहेका शेयर सदस्यहरूको एकाघरका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क गराउने सहमती भएको छ ।

यसैगरी छिम्केश्वरी अस्पताल प्रा. लि. रहेको पूर्वाधारमा गाउँपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य एकेडेमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हव क्षेत्र निर्माण गर्ने साथै छिम्केश्वरी अस्पताल प्रा. लि. को शेयर सदस्यहरूलाई सो एकेडेमीको शेयर सदस्य बनाउने, एक विशेष समारोहको आयोजना गरी सम्पूर्ण छिम्केश्वरी अस्पताल प्रा.लि.को शेयर सदस्यहरूलाई सम्मान सहित अस्पताल समायोजन कार्यक्रम सम्पन्न गर्ने तथा आँबुखैरेनी अस्पताल सञ्चालक समितिमा छिम्केश्वरी अस्पताल प्रा.लि.मा हाल रहेका शेयर सदस्यहरू मध्येबाट प्रतिनिधित्व गराउने पनि सहमति भएको छ ।

Photo2024July222024 Tanahau-01


प्रकाशचन्द्र भट्टराई