निगरानी समूहलाई गाविसबाट बजेट विनियोजन

इन्सेकको पहलमा चापपानी गाउँ विकास समितिमा गठित मानव अधिकार निगरानी समूहलाई चापपानी गाविसले चालु आर्थिक वर्ष २०७३/०७४ बाट २० हजार रुपियाँ बिनियोजन गरेको छ ।

पुस १२ गते सम्पन्न गाउँ परिषद् बैठकले निगरानी समूहका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास तालिम सञ्चालनका लागि सो रकम विनियोजन गरिएको गाविस सचिव तिलकबहादुर बुचाले जानकारी दिए ।

त्यस्तै आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि समेत २० हजार रुपियाँ बजेट निगरानी समूहका लागि विनियोजन गरिएको समेत गाविस सचिव बुचाले जानकारी दिए । आगामी वर्षको बजेटबाट के कार्यक्रम गर्ने भन्ने निर्णय समूहको बैठकले गर्ने निगरानी समूहका संयोजक रणप्रताप खाँणले बताए ।

निगरानी समूह गठनको समयमा सचिव बुचाले समूहका लागि गाविसको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरेका थिए ।


यज्ञमूर्ति तिमिल्सिना