निकासा भएको दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले वितरण नगरेको आरोप

नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाँउपालिका-५ का वडा सचिवले सामाजिक भत्ता पाउने व्यक्तिहरूको रकम दुई चौमासिक बितिसक्दा समेत वितरण नगरी हिनामिना गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।

सोरु गाँउपालिका-५ का वडा सचिव हस्तबहादुर शाहीले पहिलो चौमासिक र दोस्रो चौमासिकको सुरक्षा भत्ता गाँउपालिकाबाट निकासा बुझे पनि वितरण नगरको स्थानीयबासीले आरोप लगाएका हुन् । उनले पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको रकम हिनामिना गरी सम्बन्धित व्यक्तिलाई रकम जेठ ११ गतेसम्म नबुझाएको भन्दै सोही वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले जेठ ११ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

सोरु गाँउपालिका-५ मा कुल २ सय १० जना सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति रहेका छन । सचिव शाहीले पहिलो किस्ता कात्तिक महिना र दोस्रो किस्ता फागुनमा गाउँपालिकाबाट निकासा लगेका थिए । पहिलो चौमासिकको कात्तिक मसान्त र दोस्रो किस्ताको फागुन मसान्तसम्म सम्बन्धित व्यक्तिलाई वितरण गरिसक्नु पर्नेमा २ सय १० जना मध्ये ९० जनाले जेठ ११ गतेसम्म आठ महिनाको भत्ता नपाएको वडा सदस्य दन्तबहादुर मल्लले बताए ।

कर्णालीका बालबालिकाका लागि सरकारले पोषण भत्ता बापत मासिक ४ सय रुपियाँ, एकल महिला तथा कर्णालीका ज्येष्ठ नागरिक (६०-६९ वर्ष)का लागि मासिक १ हजार रुपियाँ र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपियाँ र श्रेणी अनुसार अपाङ्गता भएका व्यक्तिका लागि मासिक ६ सय देखि २ हजार रुपियाँसम्म वितरण गर्दै आएको छ ।

सचिव शाहीले साबिकको फोतु गाविसका वडाका लागि पहिलो किस्ता १५ लाख ७५ हजार २ सय रुपियाँ र हाल वडानम्बर ५ का लागि दोस्रो किस्ता ७ लाख २६ हजार ४ सय रुपियाँ रकम निकासा लगेका थिए । शाहीले आफ्ना नजिकका व्यक्तिलाई मात्र रकम वितरण गरेको र अन्यलाई अहिलेसम्म रकम नबुझाएकाले रकम हिनामिना गर्ने सचिव शाही र वडाका मुखिया परेकलाल मल्लविरुद्ध कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउन आएको अर्का वडा सदस्य ज्ञानबहादुर मल्लले बताए ।

रकम हिनामिना गरेको निवेदन जिल्ला प्रशासन कार्यालयमा वडा सदस्यहरूले दिएको र सम्बन्धित वडाबाट आवश्यक कागजपत्र झिकाई अनुसन्धानको प्रक्रिया सुरू गरिने निमित्त प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए । रकम हिनामिना भएकै भए कारबाही अघि बढाइने निमित्त प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिमध्ये ७५ प्रतिशतलाई सदरमुकाम गमगढी र सम्बन्धित वडामै पुगेर वितरण गरिसकेको भरपाई आफूसँग रहेको र बाँकी २५ प्रतिशतको बुझाउन बाँकी रहेको वडा सचिव मल्लले जानकारी दिएको भएपनि वडा सदस्य र सामाजिक सुरक्षा भत्ता पाउनेहरूका आफन्तले भने समयमै पाउने भत्ता दुई चौमासिक बितिसक्दा पनि अहिलेसम्म नपाएकाले रकम सचिव र मुखियाले हिनामिना गरेको स्थानीयको आरोप छ ।


जीवन सेजुवाल