निःशुल्क वितरणको औषधि अभाव

सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ ।

सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले बताए ।

'मौजुदा औषधि सकिएकोले स्वास्थ्य संस्थामा औषधि पठाउन समस्या भएको छ । १५ प्रकारका विभिन्न अत्यावश्यक औषधिको अभाव भएको हो ।'-उनले भने-'केही औषधि अभाव भइसकेको छ भने केहीको स्टक ज्यादै न्यून भएकोले माग बढेमा वितरणमा समस्या हुन्छ ।'

भिटामिन 'बी', ग्यास्ट्रिकविरुद्धको औषधि, विभिन्न रोगविरुद्धका एन्टिबायोटिक, टाइफाइडविरुद्धको सिप्रोलगायतका औषधि अभाव भएको छ । जीवनजल र सिटामोलसमेत स्टक सिमित रहको कार्यालयले जनाएको छ ।

मन्त्रालयले समयमा बजेट र औषधि नपठाउँदा समस्या हुन थालेको हो । अत्यावश्यक औषधिको लागि क्षेत्रीय कार्यालयमार्फत माग गरिएको र केही औषधि कार्यालयले नै खरिद गर्ने तयारी गरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जिल्लामा एक अस्पतालसहित तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७१ स्वास्थ्य चौकी रहेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ ।


नवदीप श्रेष्ठ