निःशुल्क परीक्षण किट अभाव हुँदा बिरामीहरू महङ्गो शुल्कमा डेङ्गु परीक्षण गराउन बाध्य

  ०७९ भदौ ३१ गते

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको अवस्थामा लुम्बिनी प्रदेशका केही जिल्लामा निशुल्क किट अभाव हुँदा बिरामीहरू महङ्गो शुल्क तिरेर नीजि प्रयोगशालामा डेङ्गु परीक्षण गराउन बाध्य भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयसँग प्रदेशमा डेङ्गु सङ्क्रमितहरूको तथ्याङ्क छैन भने जिल्ला तहमा पनि सरकारी प्रयोगशाला बाहेक निजि प्रयोगशालामा परीक्षणमा भेट्टिटएका सङ्क्रमितहरूको तथ्याङ्क नपाइएको इन्सेक जिल्ला प्रतिनिधिहरू बताएका छन् । केही स्थानीय तह र स्वास्थ्य कार्यालयहरूले पानी जम्ने ठाँउ, लर्भा नष्ट गर्ने अभियान चलाएको पाइएको छ ।

प्यूठान प्रतिनिधि रबिन्द्र पाण्डेका अनुसार जिल्लामा डेङ्गुका २० जना सङ्क्रमित रहेका छन् । जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किटको अभाव भएको छ । अस्पतालमा बिरामी छोरा लिएर गएकी प्यूठान नपा– ७ की २५ वर्षीया ज्योती भट्टले अस्पतालमा डेङ्गु परीक्षण गर्ने किट तीन दिन देखि नभएकाले छोराको परीक्षण नभएपछि नहुने चर्को शुल्क तिरेर निजी प्रयोगशालामा परीक्षण गराएको बताउनु भयो ।  जिल्लामा डेङ्गुका बिरामी बढ्दै गएको भएपनि परीक्षण गर्न नसकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख खिमप्रसाद पाध्यले  बताउनु भयो । खिमप्रसादका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको ५० थान किट सकिएको र थप नआएका कारण अभाव भएको हो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार डेङ्गुबाट घोराही उपमनपा–१४ की ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको छ । जिल्लामा ६ सय ३५ जना डेङ्गुका बिरामी रहेका छन् ।  स्वास्थ्य कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ २७ सम्मको तथ्याङक अनुसार दाङमा ६ सय ३५ जना डेङ्गु सङ्क्रमित छन् ।  सबै भन्दा बढी घोराही उपमनपामा ६ सय ४ जनामा सङ्क्रमण देखिएका छ ।  स्वास्थ्य कार्यालयले डेङ्गु परीक्षणका लागि जिल्लाका सबै ठाँउमा किटहरू पठाएको जनाएको छ । साथै सचेतनाका कार्यक्रम, लामखुट्टेका अण्डा, लार्भा र बासस्थान नष्ट गर्ने काम भइरहेको फोकल पर्सन देवीलाल डाँगीले जानकारी दिनुभयो । बिरामीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासीमा पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार डेङ्गु रोगको सङ्क्रमण बढ्दै गए पनि परीक्षण किट अभाव हुँदा पर्याप्त मात्रामा परीक्षण हुन सकेको छैन उपकरणहरूको उपलब्धता नहुँदा केही दिनकालागि परीक्षण कार्य स्थगीत गरेको र किटको व्यवस्था हुने बित्तिकै परीक्षण कार्य पुनः सुरू गर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले बताउनु भयो । जिल्लामा डेङ्गु नियन्त्रणका लागि पर्याप्त बजेट बिनियोजन नभएको र अति आवश्यक उपकरणको अभाव यथावत रहे डेंगुले अझ ठुलो समस्या निम्त्याउन सक्ने पनि पौडेलले बताउनु भयो ।  हाल जिल्लामा २३ जना सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी बर्दघाट नगरपालिकामा १३ जना सङ्क्रमित रहेका छन् ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज