नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर एकको मृत्यु, एक जना प्रहरी घाइते

हरिनगर गाउँपालिका-२ का ५९ वर्षीय खुर्सिद आलम अन्सारीलाई असोज ४ गते बिहान नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामनगर भुटाहा बजारमा अपरिचित व्यक्तिको समूहले हानेको गोली लागेर रोहियन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तथा पूर्व एमाले नेता अन्सारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जना हतियारधारीले अन्सारी माथि गोली हानेका थिए । गोली हान्ने हतियारधारीलाई रामनगर भुटाहामा बाटो छेक्ने क्रममा सो समूहले चलाएको गोली लागि दुई जना प्रहरी पनि घाइते भएका छन् ।

घाइते हुनेमा घुस्कीका प्रहरी जवान शिव पौडेल घाइते भएका छन् । घाइते प्रहरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बिहान पौने ११ बजेको समयमा अन्सारीमाथि गोली प्रहार भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । अन्सारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरूवामा राखिएको छ ।

आक्रमण गर्ने समूह अन्सारीलाई गोली प्रहार गरेर भारतको सुपोल जिल्लाको घुर्नाबजारतर्फभागेको प्रत्यक्षदर्शी नसिव आलमले बताए ।

अहिले सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीका सुरक्षा अधिकारीहरूले जिल्लास्थित सुरक्षा प्रमुखहरू समेत सोही क्षेत्रमा स्थलगत अवलोकन गरिरहेको बताए ।


जयकृष्ण यादव