नागरिक स्वास्थ्य माथि खेलबाड गरेको गुनासो

  ०७६ चैत ७ गते

व्यवसायीहरूले नागरिक स्वास्थ्य माथि बारम्बार खेलबाड गर्ने गरेको गुनासो आएको छ । म्याद गुज्रेका औषधि, अखाद्य मासु विक्रि गर्दै नागरिक स्वास्थ्य माथि खेलबाड गरेको स्थानीय उपभोक्ता  दामोदरप्रसाद घिमिरेले बताउनु भयो ।
बजार अनुगमको क्रममा पनि यस्ता कमजोरी भेटिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माले बताउनु भयो ।
अनुगमनको क्रममा १९ ओटा मासु पसल निरीक्षण गर्दा चार ओटा मासु पसलबाट ३३ केजी खान अयोग्य मासु जफत गरिएको उहाँले बताउनु भयो । त्यस्तै तीन ओटा अस्पताल, एक ओटा पोलिक्लिनिक र दुई ओटा फार्मेसीमा गरिएको अनुगमनबाट म्याद नाघेको औषधि बरामद गरिएको उहाँले बताउनु भयो । पसलहरूबाट म्याद नाघेका खानेकुराहरू समेत बरामद भएको उहाँले जानकारी दिनु भयो ।

ती मध्ये चार जना मासु व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयम नै झिकाई सचेत गराइएको र अन्यलाई अनुगमन टोलीले नै सचेत गरि छाडेको प्रजिअ शर्माले बताउनु भयो । व्यवसायीहरूको विश्वास गरेर सामान खरिद गर्दा बारम्बार खान योग्य नहुने सामानहरू पर्ने गरेको जिएस होटलका सञ्चालक तथा स्थानीय उपभोक्ता सुदिप देवकोटाले बताउनु भयो ।
जिल्ला सदरमुकाम मन्थलीलगायतका बजारहरूमा हरेक पटक अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला पर्नु नागरिक स्वास्थ्य माथि व्यवसायीहरूको लापर्बाही भएको नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ बताउनु हुन्छ ।

यसैबीच धुलिखेल नगरपालिकाले स्थानीय बजार अनुगमन गर्दा म्याद गुज्रेको औषधि भेटिएको काभ्रेबाट इन्सेक जिल्ला प्रतिनिधि हिरामान तामाङले जानकारी दिनु भयो । नगरपालिकाले पहिलो पटक औषधि पसल आकस्मिक अनुगमन गर्दा म्याद गुज्रेको औषधि खुलेयाम विक्रि गर्ने गरिएको पाइएको धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्माले बताउनु भयो ।

औषधि पसलहरूले मास्क, स्यानिटाइर र सामान्य औषधीहरूको कालोबजारी गरेको स्थानीयले मौखिक उजुरी दिएपछि ०७६ चैत ६ गते नगरपालिकाले बजार अनुगमन गरेको नगरपालिका स्वास्थ्य संयोजक सन्दिप केसीले बताउनु भयो । धुलिखेल अस्पताल क्षेत्र तथा बसपार्क क्षेत्रका ६ ओटा औषधि पसल अनुगमन गरिएको केसीले बताउनु भयो । अनुगमन गर्दा कुनै पनि औषधि पसलमा मास्क र स्यानिटाइर पर्याप्त नभेटिएको स्वास्थ्य संयोजक केसीले जनाकारी दिनुभयो । अनुगमनमा हरिसिद्धि मेडिकल हलमा म्याद नाघेको औषधि विक्री गर्ने अन्य औषधिसँगै राखेको अनुगमन समितिले फेला परेको थियो । त्यस्तै प्रणय फार्मेसीमा पाँच रुपैँया पर्ने मास्क २० रुपैयाँमा विक्री गरिरहेको भेटिएको थियो भने भावना फार्मेसीको दर्ता प्रमाणपत्र समेत फेला नपरेको सामाजिक विकास समितिका संयोजक विष्णु धितालले बताउनु भयो  ।


नवराज पथिक