नागरिक समाजले परिवर्तित परिस्थिति अनुसार भूमिका निर्वाह गर्नु पर्नेमा जोड

  ०७८ मङ्सिर २ गते

नागरिक समाजले समयको परिवर्तनसँगै आफ्नो भूमिका पनि परिवर्तन गर्नु पर्नेमा बुटवलमा आयोजित एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा मङ्सिर २ गते बुटवलमा आयोजित महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा अध्ययन गरिएको प्रतिवेदनसम्बन्धी छलफल कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले उक्त कुरामा जोड दिनु भएको हो ।

अध्यक्ष श्रेष्ठले नागरिकले आधारभूत मानव अधिकारको प्रत्याभूत गरे मात्रै अगाडि बढ्न सकिने बताउदै यस विषयमा हामी सबै सचेत हुन जरूरी रहेको बताउनु भयो ।

इन्सेक एक्लैले मात्र नभई सबै नागरिक समाजको महत्वपूर्ण भूमिका हुन सकेमा मात्र समाज परिवर्तन गर्न सकिने श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले इन्सेकले गरेको अध्ययन एउटा महत्वपूर्ण दस्तावेज भएकोले यसले हामी सबैको अवस्थालाई स्पष्ट रुपमा स्मरण गराएको बताउनु भयो ।

आचार्यले विकसित देशहरूमा महामारी र विपद् आउने पूर्वानुमान गर्ने र विपदको पूर्व प्रतिकार्य योजना बनाएर अगाडि बढ्ने काम भएपनि  हामी कहाँ यस्तो खालको अभ्यास नहुँदा समस्या अझ बढी हुने बताउनु भयो ।

photo2021111802rupandehi

कार्यक्रममा संबिधान सभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले इन्सेकले गरेको अध्ययनले कोभिडमा भएको हाम्रो अवस्थालाई पुनर्स्मरण गराएको बताउदै हाम्रो अवस्थाको विषयमा पनि अध्ययन गर्ने कोही रहेछ भन्ने अनुभूति गराएको बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ, नेपालका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले नागरिक समाजमा परेका असरहरू भनेकै सबै नागरिकलाई परेको पीडा भएको र यसले राज्यलाई कमजोर बनाउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खडकाले प्रतिवेदन महत्वपूर्ण भएको र प्रतिवेदनमा गैरसरकारी संस्थाहरूलाई बढी प्राथमिकतामा राखेको महशुस भएकोले नागरिक समाजलाई अलि फराकिलो रुपमा बुझ्नु पर्नेमा जोड दिनुभयो ।

उपभोक्त हित सङ्रक्षण मञ्च रुपन्देहीका अध्यक्ष र मानव अधिकार रक्षक सञ्जालको अध्यक्ष समुन्द्र जिसीले कोभिडका बेला धेरै जोखिम मोलेर काम गर्ने व्यक्तिहरूले स्वास्थ्य अधिकारको उपभोग गर्न नपाएको बताउनु भयो ।

जिसीले राजनीतिक अस्थिरताका कारणलाई पनि प्रतिवेदनमा समेटनु पर्ने बताउनु भयो ।

अधिकारकर्मी सावित्रा घिमिरेले कोभिडका कारण सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएको र त्यसमा बौद्धिक अपाङ्गता र स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूले सबैभन्दा बढी समस्या भोग्नु परेका कुराहरूलाई पनि प्रतिवेदनमा समेट्नका लागि आग्रह गर्नुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार प्रलेख तथा पैरवी विभागकी सम्झा श्रेष्ठले इन्सेकले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


रीमा बिसी