नागरिक अभियानद्वारा दोलखा घटनाको भर्त्सना

दोलखाको गौरीशङ्कर गाउँपालिका-१ हुप्पाका ३३ वर्षीय कुलबहादुर तामाङलाई वैशाख २६ गते राति नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका सहअध्यक्षद्वय सुबोधराज प्याकुरेल र इन्द्रप्रसाद अर्यालद्वारा वैशाख २७ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ-'चुनाव प्रचारप्रसारका क्रममा स्थानीय होटलमा बास बसेका एमाले कार्यकर्तालाई नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले कुटपिट गरेका थिए ।'

'घटना विवरणअनुसार होटलमा बसिरहेका एमाले कार्यकर्ता कुलबहादुरलाई एमाओवादी -केन्द्र) का कार्यकर्ताले कुटपिट गर्दै होटलबाट बाहिर ल्याइ सोही ठाउँको निलकण्ठेश्वर माविका प्राङ्गणमा पुर्‍याएर धारिलो हतियार (चुप्पी) प्रहार गरेका थिए । घाइते तामाङलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सो घटनामा सोही ठाउँ निवासी निलकण्ठेश्वर उच्चमाविका शिक्षक दिलबहादुर बुढाथोकी घाइते भएका छन् । उनको थप उपचार काठमाडौँमा हुँदैछ ।'-विज्ञप्तिमा उल्लेख छ ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रारम्भिक सूचना अनुसार घटनामा माओवादी कार्यकर्ताले केही राउण्ड हवाइफायरसमेत गरेको जनाइएको छ ।

'स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरण गृह-मन्त्रालयले २०७३ चैत १६ गते एक सूचना प्रकाशन गरी २०७४  वैशाख १५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरू स्थानीय प्रशासनमा बुझाइसक्न निर्देशन दिएको थियो तर माओवादी केन्द्रका कार्यकर्ताले हतियार स्थानीय प्रशासनले किन बुझाएनन् भन्ने यक्ष प्रश्न खडा भएको छ ।'-जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासनले त्यस्ता हतियारहरू निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गर्दै आएको छ । प्रस्तुत घटनाले स्थानीय तह निर्वाचन आचार संहिता २०७३ को  उपदफा दुईको परिच्छेद पाँचमा उल्लेखित नागरिकको स्वतन्त्रतासम्बन्धी हकको उल्लङ्घन भएको नागरिक अभियानले जनाएको छ ।

ज्ञिप्तिमा भनिएको छ-'घटनामा संलग्न सबैलाई कानुनी दायरमा ल्याउन, जनताको भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने अधिकारको ग्यारेण्टी गर्न तथा घाइतेको यथोचित उपचार गर्न माग गर्दछौँ ।'

घटनाको सत्य तथ्य बुझ्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको एक टोली घटनास्थालतर्फप्रस्थान गर्दै गरेको अभियानका सहअध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । 'भ्रमण टोली घटनास्थलबाट फर्कने बित्तिकै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले थप विवरण सार्वजनिक गर्नेछ ।'-प्याकुरेलले भने ।


अनलाइन डेस्क