नागरिकता बनाउनबाट वञ्चित समुदायलाई नागरिकता प्रदान

आर्थिक अभावका कारण नागरिकता बनाउन नसकेका सीमान्तकृत तथा गरिब दलित समुदायले नागरिकता पाएका छन् । निर्वाचन तथा राजनीतिक सहभागिताका लागि नागरिक अभियान परियोजनाले नागरिकता बनाउन आर्थिक सहयोग गरेपछि उनीहरूले नागरिकता पाएका हुन् ।

दार्चुलाका १० गाविसमा सञ्चालित कार्यक्रम अर्न्तर्गत हालसम्म ८ सय जनालाई आर्थिक सहयोग गरेपछि नागरिकता प्राप्त गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ दार्चुलाका जिल्ला संयोजक जगदीश चुनाराले बताए ।

जनचेतना तथा आर्थिक अभावका कारण सदरमुकाम खलङ्गासम्म आएर नागरिकता बनाउन नसकेकाहरूलाई आर्थिक सहयोग गरिएको अभियानकर्ताले बताएका छन् । उनीहरूलाई फोटो खिच्न, गाडीमा आवतजावत खर्चलगायतमा सहयोग गरिएको बताइएको छ । हालसम्म प्रतिव्यक्ति ३ सय देखि ३ सय ५० रुपियाँसम्म सहयोग गरिएको चुनाराले जानकारी दिए ।

दार्चुलाका उकु, ग्वानी, रानिशिखर, सितोला, लटिनाथ, धुलीगडा, इयरकोट, धारी, सिप्टी र अपि नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । '६ महिनाको अवधिमा नागरिकता बनाउन नसकेकाहरूलाई खलङ्गासम्म ल्याएर नागरिकता दिलाइएको छ ।'-उनले भने-'अझै पनि नागरिकताको महत्व नबुझेकाहरूलाई चेतना दिँदै नागरिकता बनाउन प्रेरित गर्छौँ । अहिले स्थानीय निकायको निर्वाचन हुने भएपछि झनै नागरिकता बनाउनतर्फउत्प्रेरित गरिरहेका छौँ ।'

कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनमै एक जना कर्मचारी राखेर हेल्प डेस्कको रूपमा सहयोग गरिएको उनले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार अझै जिल्लामा १० हजार भन्दा बढीले मतदाता परिचयपत्र बनाएका छैनन् । नागरिकता बनाइसकेपछि मतदाता परिचय पत्र बनाउन नसकेकाहरूलाई शिविरमार्फ समेट्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी आनसिंह डागाले बताए । गत आर्थिक वर्षम्म ७२ हजार ४ सय ५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।


नरेन्द्रसिंह कार्की