नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

  ०७८ पुस २२ गते

चन्दननाथ नगरपालिका -४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुुभएको छ ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीकले कान सुन्न सक्नुहुन्न । उहाँसँग अपाङ्गता परिचयपत्र पनि छैन ।

उग्रेन तेघोलिङ गुम्बाका काङसर लामाले गुम्बामा वास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्ध महिलाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उहाँका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भन्नुभयो ।

फुटीकका दाजुभाइले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ ।

अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले फुटीकले नागरिकता नपाएको विषयमा थप बुझेर निर्णय गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘२४ वर्षसम्म अघि मुगुदेखि बसाई सराई गरी जुम्ला आएका उहाँका भाइले नागरिकता पाएका हुन् भने उहाँले पनि पाउनु हुन्छ । प्रत्यक्ष बुझेर नागरिकता उपलव्ध गराउन पहल गर्ने छौँ ।’


मानदत्त रावल