नागरिकता नहुँदा सामाजिक सेवाबाट वञ्चित

  ०७९ फागुन २८ गते

पाणिनी गाउँपालिका– ४ सल्लेरी बस्ने ३५ वर्षीया लक्ष्मी घर्ती मगर नागरिकता नहुँदा सामाजिक सेवाबाट वञ्चित हुनु भएको छ ।

पाणिनी गाउँपालिका– ४ का चुराबहादुर घर्ति मगरसँग २०६९ भदौ १२ गते विवाह गरी आएकी लक्ष्मी घर्तीले आजसम्म आफ्नो नागरिकता नहुँदा छोरा छोरीको जन्म दर्तासमेत गराउन नसकेको लक्ष्मीले बताउनु भयो ।

उहाँले तीन चार वटा निर्वाचन आए गए मेरो नागरिकता नभएकै कारण भोट खसाल्न नपाएको, कुनै पनि समूह सहकारीमा सामेल हुन नसकेको, सरकारी सेवा सुविधा लिन र बैंक खाता खोल्न पनि नागरिकता नभएर अप्ठेयारो भएको बताउनु भयो ।

चुराबहादुरको जेठी पत्नी पर पुरुषसँग लागेर गर्भ रहेपछि  १० दिनकी बालिकाको हत्या गरेको अभियोगमा सजाय भोगेर सम्पर्क विहीन भए पछि लक्ष्मीसँग विवाह गरेका थिए । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद हुन नसक्दा लक्ष्मीसँग विवाह दर्ता हुन नसकेका कारण नागरिकता बनाउन समस्या परेको हो ।

पाणिनी गाउँपालिका– ४ की वडा सदस्य हुमकला बिकले नानीहरूको जन्म दर्ता र लक्ष्मीको नागरिकता बनाउन वडा कार्यालयमा प्रयास गर्ने बताउनु भयो ।

पाणिनी गाउँपालिका– ४ पटौटीका वडाध्यक्ष हरि घिमिरेले चुराबहादुर  र लक्ष्मी  नागरिकता नबनेको र छोरा छोरीको जन्म दर्ता हुन नसकेको कुरा लिएर वडा कार्यालयमा आएको कुनै जानकारी नभएको र लक्ष्मीको नागरिकता छैन भन्ने पनि थाहा नभएको बताउनु भयो ।

बालबालिकाको जन्म दर्ता गराउन ठूलो समस्या नभएको तर बहु विवाह भएको हकमा नागरिकता बनाउँन कानुनी प्रक्रिया अगाडि बढाएर नागरिकता बनाउन पहल गर्ने बताउनु भयो ।


कूलबहादुर नेपाली