नागरिकको जीवनको अधिकार सुनिश्चित गरः आयोग

  ०७७ मङ्सिर १० गते

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १० गते विज्ञप्ति प्रकाशन गरी महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न, सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिएको जनाएको छ ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाकी–६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या र त्यसपछि सिर्जित परिस्थितिको आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट स्थलगत अनुगमन भइरहेको समेत उल्लेख गर्दै जीवनको अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

गुलाब साह खातुनको हत्याको आरोपमा गिरफ्तार गरिएका आरोपितलाई कानुनी कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागि एक जना सर्वसाधरणको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रहरीले चलाएको गोली लागि बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

अपराधका घटनामा संलग्नहरू उपर कानुन बमोजिम कारबाही गर्न, कानुन हातमा लिन खोज्ने जो कोहीलाई कानुनी प्रक्रियाबाटै नियन्त्रणमा लिन आयोगले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई आयोगले आग्रह गरेको छ ।

प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई समेत आग्रह गरेको आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे