नवलपुरमा बलात्कारका घटना बढ्दो, नौ महिनामा ११ जना बालिका बलात्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेख अनुसार नवलपुरमा बालिका बलात्कारका घटना बढ्दो रुपमा रहेको छ, नौ महिनामा ११ जना बालिका बलात्कृत भएको इन्सेकले अभिलेख गरेको छ ।

६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा २०८० मङ्सिर २१ गते प्रहरीले बुबालाई कावासोतीबाट गिरफ्तार गर्यो । पीडितकी आमाले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिनुभयो । । पीडित बालिका माथि विभिन्न समयमा आफ्नै बुबाबाट पटक पटक बलात्कार भएको अनुसन्धानबाट समेत खुल्यो ।

देवचुलीमा ५ वर्षकी बालिकालाई फागुन ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले १३ र १४ वर्षका बालकलाई गिरफ्तार गर्यो । बलात्कारको अभियोग लागेका बालकहरु कक्षा ६ र ७ मा पढ्दै थिए ।

यसैगरी १२ वर्षीया अपाङ्गता भएकी बालिकालाई २०८० मङ्सिर ८ गते बलात्कार गरेको भन्दै देवचुली – १४ प्रगतिनगर  निवासी ५८ वर्षीय रुक्मागत न्यौपाने विरुद्ध पीडित पक्षद्वारा जिल्ला प्रहरी कार्यालयमा २०८० माघ २१ गते उजुरी पर्यो ।

यी तीन घटना त प्रतिनिधि घटना मात्रै हुन । नवलपरासी पूर्व नवलपुरमा चालु आर्थिक वर्षको अहिलेसम्म बालिका बलात्कारका मात्रै ११ ओटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमध्ये १० ओटा जिल्ला प्रहरी कार्यालय र एउटा घटना इलाका प्रहरी कार्यालयमा दर्ता भएको हो । दर्ता भएका घटनाहरूमा पाँच वर्षीया बालिकादेखि १७ वर्षीय उमेर समूहका बालिका छन् । दुई ओटा बाल यौन दुर्व्यवहारको घटना समेत इलाका प्रहरी कार्यालयमा दर्ता भएको छ ।

यस अवधिमा प्रहरी कार्यालयमा दर्ता भएको १७ ओटा बलात्कारका घटनामध्ये ११ ओटा घटना बालिका बलात्कारका घटना छन् । ६ ओटा महिला बलात्कारको घटना दर्ता भएको छ ।

गत आर्थिक वर्ष २०७९ ÷ ०८० मा प्रहरीमा १४ ओटा बलात्कारका घटना दर्ता भएका थिए । जसमध्ये ७ ओटा बालिका र ७ ओटा महिला बलात्कारका घटना दर्ता भएका थिए । एउटा बलात्कार प्रयास र दुई ओटा  बाल यौन दुर्व्यवहारको घटना दर्ता भएको छ ।

चालु आर्थिक वर्षको नौ महिनाकै अवधीमा १७ ओटा बलात्कारका  घटना प्रहरीमा दर्ता भएका छन् । गत वर्षभन्दा तीन ओटा घटना बढी रहेको छ ।

एकातिर बलात्कारका घटना बढ्दै जानु र त्यसमाथि पनि बालिकाहरूमाथि बलात्कार हुनेक्रम बढ्दो देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक नरहरि रेग्मीका अनुसार जिल्लामा महिला बालबालिकामाथि हुने यौन हिंसाको अवस्था निकै डरलाग्दो देखिएको छ । जिल्लामा अन्य ठूलाखालका कुनै अप्रिय घटना नभएपनि महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको उहाँ बताउनुहुन्छ । ‘बलात्कारका घटनामा १२÷१३ वर्षका बालकहरू सामेल भएको पाइनु निकै चिन्ताजनक अवस्था हो । बढ्दो इन्टरनेटको प्रयोग, मोबाइलमा सहज पहुँच भएका कारण पनि बालकहरू  यस किसिमको आपराधिक कृयाकलापमा संलग्न हुने गरेका छन्’ रेग्मीले बताउनुभयो ।

 


ज्ञानु पंगेनी