पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन सास्ती

नवलपुरको पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।

बौदिकाली, बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही भागका बासिन्दालाई सदरमुकाम कावासोती पुगी नागरिकता बनाउनसास्ती हुने गरेको छ  । सडक जीर्ण भएकाले यातायातको असहजताका कारण सदरमुकाम कावासोती सम्म पुग्न निक्कै सास्ती हुने गरेको स्थानीय पूर्ण थापाले गुनासो गर्नुभयो ।

‘यहाँका नागरिकले प्रशासनिक सेवा लिन निक्कै कठिन छ, सदरमुकाम पुगेर नागरिकता बनाएर एकै दिनमा फर्किन मुस्किल छ, आउजाउमा खर्च पनि धेरै लाग्छ, समय पनि धेरै लाग्छ, केही कुरा मिलेन भने फेरी घर आएर वडा र पालिका पुग्नुपर्छ ’ थापाले  भन्नुभयो । पहाडी गाउँपालिकाहरुलाई पायक पर्ने गरि इलाका प्रशासन कार्यालय स्थापना गरेर सहज रुपमा सेवा दिन आवश्यक रहेको थापाले बताउनुभयो ।

सदरमुकाम देखि करिब ५० किलोमिटरमा रहेका बौदिकाली र बुलिङटार विकट क्षेत्रका रुपमा रहेका छन् । भौगोलिक कठिनाइका कारण जिल्ला स्थित कार्यालयबाट सहज सेवा लिन यहाँका बासिन्दाले सकिरहेका छैनन् ।

बैदीकाली निवासी राममणि ढुङ्गानाको गुनासो पनि उस्तै छ । ‘कहिलेकाँही अपर्झटमा कागजपत्र बनाउनुपर्ने हुन्छ तर, सदरमुकाम टाढा हुँदा दुइ तीन दिनै लाग्ने गर्छ । कहिलेकाँही भिडभाड भएर पालो पाइदैन । कहिलेकाँही सानो कुरा बिग्रिए पनि फेरि गाउँ आउनुपर्छ निकै सास्ती हुन्छ । ’ पहाडी  क्षेत्रमा पायक पर्ने गरि इलाका प्रशासन स्थापना गरेर नागरिकलाई सहज सेवा दिनुपर्ने उहाँको पनि माग रहेको छ ।

पहाडी क्षेत्रलाई राज्यले विषेश रुपमा हेर्नुपर्ने बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । ‘हामीलाई सुगम जिल्लाको भन्छन्, तर सदरमुकाम पुग्न गाह्रो छ । स्थानीय बासिन्दालाई प्रशासनबाट हुने काम गर्न निकै सास्ती छ, गाउँपालिकाको अध्यक्ष भएकोले गुनासो पोख्नुहुन्छ तर हाम्रो हातमा केही छैन् । हामिले गाउँमा आउने सासंद देखि मुख्य मन्त्रीसम्म सबैलाई यस विषयमा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ हुन सकेको छैन् । ’ ओझाले बताउनुभयो ।


ज्ञानु पंगेनी