नवलपरासी घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

  ०७८ जेठ ७ गते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकैको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले जेठ ६ गते विज्ञप्ति प्रकाशन गरी घाइतेलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा मृत्यु भएको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशन/प्रशारण भएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले उक्त घटना सम्बन्धमा अनुगमन सुरू गरेको जनाएको छ । सो क्रममा आयोगले स्थानीय प्रहरी प्रशासनसँग तत्कालै आवश्यक जानकारी लिएको पनि जनाएको छ ।

सीमा नाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको तथा अस्पताल लैजाने क्रममा बाटैमा रायको मृत्यु भएको जानकारी प्राप्त भएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आयोगले जेठ ६ गते नै पत्राचार समेत गरेको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे