नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या आरोपमा रूपनी गाउँपालिका–३ की २५ वर्षीया उमादेवी शर्मालाई सप्तरी प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।

 

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । आरोपितको गर्भबाट शिशु बालिका जन्मिएको मिति र वास्तविकता परीक्षण गर्न आरोपितलाई पुस २५ गते धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो ।

रूपनी गाउँपालिका–३ हर्दियास्थित गाउँको भित्री सडक खण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा शिशुको शव फेला परेको थियो । उमादेवीको छोरी जन्मिएका कारण हत्या गरी मिल्काएको स्थानीयवासीले अनुमान गरेपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको हो । दुई छोराकी आमा रहेकी आरोपितका पति वैदेशिक रोजगारका लागि मलेशियामा छन् ।

पोखरीको छेउमा बाँसको ढकियासमेत फेला परेकोले सोही ढकियामा नवजात शिशुलाई ल्याई पोखरीमा मिल्काएको जनाइएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते पोष्टमार्टम भएको थियो ।

photo20200110saptari (1)

photo20200110saptari (2)


मनोहरकुमार पोखरेल