नवजात शिशु मृत्यु दरमा वृद्धि

  ०७८ भदौ २७ गते

जिल्लामा नवजात शिशुको मृत्यु दर बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्क अनुसार प्रत्येक आर्थिक वर्षमा मृत्यु दर बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/०७६ मा जन्मेको २८ भित्रका नौ जना शिशुको मृत्यु भएको थियो ।  ५ हजार ६ सय ३७ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शिशुको दर १.६० प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो ।

०७६/०७७ मा ११ शिशुको मृत्यु भएको उहाँले बताउनुभयो । यस आवमा कुल ५ हजार ३ सय २२ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शिशुको दर २.०७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

यसैगरी ०७६/०७७ को अवधिको तुलनामा ०७७/०७८ मा दोब्बर शिशुको मृत्यु भएको छ । यस आवमा  २२ जना शिशुको मृत्यु भएको प्रमुख चौधरीले बताउनु भयो ।

यस आवमा ४ हजार ६ सय १ शिशु जन्मेकोमा शिशु मृत्युदर ४.७८ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ  ।

पाल्पामा गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि विभिन्न स्वास्थ्य सचेतना मूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएपनि नवजात शिशुको मृत्युदर भने बढ्दो रहेको छ ।

सुत्केरी गराउन स्वास्थ्य संस्थामा नजाने र शिशु बिरामी भएमा घरेलु उपचार गराउने कारणले गर्दा शिशु मृत्यु दर बढेको प्रमुख चौधरीले बताउनु भयो ।


यज्ञमूर्ति तिमिल्सिना