नवजात शिशुको हत्या गरेको आरोपमा आमा गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले भानु नपा-३ की ३७ वर्षीया लक्ष्मी गन्धर्वलाई पुस ३ गते बेलुकी गिरफ्तार गरेको छ ।

पुस ३ गते अपरान्ह चारबजेतिर भानु नपा-३ को दोरदोर चण्डीथोकको झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरूवालले घाँटी कसेर हत्या गरेको अवस्थामा नवजात शिशुको शव फेला परेको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयबासीले तुरतुरे प्रहरी चौकीमा खबर गरेपश्चात् घटनास्थलमा गएको प्रहरीले लक्ष्मीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले बताए ।

घटनास्थलको सुक्ष्म रूपमा अनुसन्धान, शव जाँच मुचुल्का उठाउँदै जाँदा सोही ठाउँकी लक्ष्मी गन्धर्वमाथि शङ्का लागेर थप अनुसन्धानका लागी सोधपुछ गर्दा उनले आफैँले जन्माएको शिशुको घाँटीमा सुरूवालले बेरेर हत्या गरि झाडीमा फालेको स्वीकार गरेको एसपी शाहले बताए ।

लक्ष्मीका पति विगत ४ वर्षदेखि वैदेशिक रोजगारको शिलसिलामा कतारमा रहेकोमा परपुरूषसँगको सम्बन्ध पछि बच्चा जन्मिएकोले हत्या गरेर फालेको लक्ष्मीले स्वीकार गरेको एसपी शाहले बताए ।

शिशुको शरीरको तल्लो भाग जङ्गली जनावरले खाएका कारण लिङ्गको पहिचान भने नभएको र पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको एसपी शाहले जानकारी दिए ।

गिरफ्तार भएकी लक्ष्मीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनामा संलग्न भएका पुरूषको खोजी सुरू गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई